राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा

काठमाडौं: भोलि  बुधबार हुने राष्ट्रिय सभा निर्वाचनका लागि तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । मतदानका लागि सातवटै प्रदेशमा रहेका मतदान केन्द्रहरूमा आवश्यक सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको हो ।

राष्ट्रिय सभामा फागुन २० गतेदेखि रिक्त हुने १९ पदका लागि भोलि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ । आयोगले मतदानका लागि आठवटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकेको छ ।आयोगले माघ ७ गते नै सबै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पठाइसकेको जनाएको छ । सातवटा प्रदेशमा दुई हजार २५ जना मतदाता छन् ।

भोलिको चुनावमा पाँच सय ३२ जना प्रदेश सभा सदस्य र एक हजार चार सय ९३ जना पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्नेछन् । १९ पदका लागि ४३ जनाको उम्मेदवारी परेको छ ।सत्ता गठबन्धनमा रहेका पाँच दलले राष्ट्रिय सभा चुनावमा पनि गठबन्धन बनाएका छन् । उनीहरूले चुनावमा लागि पद बाँडफाँड गरिसकेका छन् । यस्तै प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेकपा एमालेले भने सातै प्रदेशमा आफ्ना उम्मेदवार अघि सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?