आगलागी नियन्त्रणको जस लिन तनहुँका नेताहरूको होडबाजी

दमौली : व्यास -४ मेन चोकमा आइतबार आगलागीको घटना नियन्त्रणमा  नेताहरूबीच जस लिने होडबाजी चलेको छ। दमकलबाट मात्रै आगलागी नियन्त्रण सम्भव नभएपछि हेलिकप्टर मगाएको विषयमा जस लिने होडबाजी देखिएको हो।

गण्डकीका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्मा र ब्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेले तनहुँबाटै निर्वाचित श्रममन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ हेलिकप्टरमा आउन खोजेपछि आधा घण्टा ढिलो भएको आरोप लगाएका छन्। यता, मन्त्री किसानले भने आफैंले हेलिकप्टर दमौली लगेर आगो निभाएको दाबी गरेका छन्।

आगलागी नियन्त्रण गर्न दमकलले मात्र सम्भव नहुने देखेपछि प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाडसँग समन्वय गरेर हेलिकप्टर मगाएको मेयर न्यौपानेले बताए। हेलिकप्टर मगाएपछि मन्त्री किसान श्रेष्ठ पनि त्यही हेलिकप्टरमा जान्छु भनेकाले आधा घण्टा ढिलाई भएको उनको भनाई छ।

गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विश्वकर्माले पनि मेयर न्यौपानेलेझैं मन्त्रीकै कारण हेलिकप्टर आउन ढिलाई भएको बताएका छन्। आगलागी शुरू भएपछि पोखराबाट ३ वटा दमकल र पानी ट्याङ्कर पठाएको भन्दै उनले आगो निभाउन हेलिकप्टर नै चाहिने भएपछि आफूले समन्वय गरेको दाबी गरे।

‘हेलिकप्टर म आफैं किनेर उड्न सक्ने किसान श्रेष्ठ हो बाबा, तनहुँ– १ को माननीय हुँ, गठबन्धन सरकारको श्रममन्त्री हुँ’ उनले भने, ‘कोही रोइलो गर्न जरुरी छैन, मलाई विपदमा घटिया राजनीति गर्नुछैन।’ आफ्नो कारण हेलिकप्टर आधा घण्टा ढिलो भएको आरोप गलत भएको उनले दाबी गरे।

सेतोपटिको सहयोगमा 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?