पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने तनहुँ अदालतको आदेश

दमौली  : नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा नायक पल शाहलाई जिल्ला तनहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको आजको इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

शाहविरुद्ध १६ वर्षकी किशोरीलाई प्रलोभनमा पारेर जबर्जस्ती करणी गरेको भन्दै जिल्ला सरकारी वकिल कार्यालय तनहुँले अदालतमा अभियोग पत्र दर्ता गरेको थियो ।बुधबार र बिहीबार भएको थुनछेक बहसपछि शाहलाई थुनामा पठाउने आदेश भएको हो । पीडितले आफूमाथि पटकपटक करणी भएको बताएपछि उनका बाबुले पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा ११ फागुनमा किटानी जाहेरी दिएका थिए ।

सोही मुद्दामा मतियारका रुपमा रहेका शाहका म्यानेजर भनिएका कृष्ण जोशीलाई एक लाख धरौटीमा रिहा गर्ने आदेश भएको जिल्ला अदालतका श्रेस्तेदार मिनबहादुर कुंवरले जानकारी दिए । जोशी बिहीबार साँझ नै धरौटी बुझाएर रिहा भएका छन् ।

नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा तनहुँ अदालतमा मुद्दा दर्ता भएपछि नायक पल शाह विरुद्ध दुवै पक्षबाट बहस गरिएकाे थियाे । प्रतिवादीद्वय पल शाह र कृष्ण जोशीको पक्षबाट ११ जना र जाहेरवालाको तर्फबाट ७ जना कानुन व्यवसायीले बहस गरेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?