काठमाण्डाै : सरकारले सार्वजनिक गाडीकाे भाडा बढाउने निर्णय गरेको छ । इन्धनको मूल्य बढेको भन्दै यातायात व्यवसायीले दबाब दिएपछि सरकारले सार्वजनिक गाडीकाे भाडा बढाएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत प्रदेशस्तरमा सञ्चालन हुने सार्वजनिक गाडीमा भाडा बढाउन स्वीकृत गरेको हो । अहिले कायम भएको दरमा १० देखि १५ प्रतिशतसम्म भाडा वृद्धि हुने भएको यातायात व्यवस्था विभागका निर्देशक रामचन्द्र पौडेलले जानकारी दिए । बढेको भाडाको विस्तृत विवरण आउँदाे आइतवार प्रकाशन हुनेछ ।
एक प्रदेशबाट अर्को प्रदेशका लागि चल्ने मालवाहक तथा यात्रुवाहक गाडीमा मात्रै भाडा बढेको विभागले जनाएको छ । लाेकल रुटकाे भाडा भने यथावत् नै छ ।
यस्तै अब इन्धनको मूल्य पाँच प्रतिशतभन्दा धेरैले घटबढ भएमा त्यसअनुसार स्वचालित प्रणालीबाट मूल्य समायोजन गर्ने निर्णय पनि भएको छ । असारयता डिजलको मूल्य ३४ प्रतिशत बढेको आधारमा अहिले नयाँ भाडा दर तय भएको विभागले जनाएको छ ।
विभागले स्वचालित भाडा प्रणाली लागू गर्न १३ वटा सूचकलाई आधार बनाएको छ । ती सूचकमध्ये पेट्रोलियम पदार्थको मूल्य हिस्सा ३५ प्रतिशत रहन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?