दमौली : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडा–कोत्रे सडकखण्ड धुलाम्य भएपछि स्थानीयवासी आन्दोलित भएका छन् । घाम लाग्दा धुलो र पानी पर्दा हिलो भएपछि स्थानीयवासी सडक अवरुद्ध गरेर आन्दोलनमा उत्रिएका हुन् ।
पटक–पटक सम्बन्धित निकायमा धुलो नियन्त्रणका लागि आग्रह गरे पनि चासो नदिएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको एक जना स्थानीयवासीले बताए । स्थानीयवासीले शुक्रबार कोत्रेमा १५ मिनेट र शनिबार हलेदीमा ३० मिनेट राजमार्ग अवरुद्ध गरेका छन् ।
सडक डिभिजन कार्यालयमा विभिन्न मितिमा डेलिगेशन गएर सडक मर्मतको माग गरिए पनि सुनुवाइ नभएको अर्को स्थानीयले जानकारी दिए । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तारका लागि ठेक्का लागिसकेकाले सडक डिभिजनले केही गर्न नसक्ने बताएको उनले बताए ।
सडकखण्ड धुलाम्य हुँदा यस ठाउँका स्थानीयवासीका अलवा राजमार्ग भएर यात्रा गर्ने सर्वसाधारणले पनि सास्ती भोग्दै आएका छन् । यस ठाउँको विभिन्न खण्डमा सडक भत्किँदा दुई पाङ्ग्र्रे सवारी दुर्घटनामा पर्ने गरेका छन् ।
शुक्लागण्डकी –२ हलेदीमा सडक मर्मत नहुँदा स्थानीयवासीले समस्या भोग्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?