आउँदो आर्थिक वर्षको बजेट भाषण आज हुँदै

सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट आज सार्वजनिक गर्दै छ । अपराह्न चार बजे बस्ने संघीय संसदको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आय-व्ययको विवरण प्रस्तुत गर्ने छन् । संविधानमै १५ जेठमा नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने व्यवस्था छ ।

देशको अर्थतन्त्र जोखिमपूर्ण अवस्थाबाट गुज्रिरहेको अवस्थामा आउन लागेको बजेटलाई चासोका साथ हेरिएको छ । तर सरकारले आसन्न सङ्घीय र प्रादेशिक चुनाव लक्षित मतदाता रिझाउने गरी महत्वाकाङ्क्षी बजेट ल्याउने तयारी गरेको छ । नयाँ बजेटका लागि राष्ट्रिय योजना आयोगले १७ खर्ब ४५ अर्ब रुपैयाँको सीमा निर्धारण  गरेको  छ  ।

सरकारले तोकिएको सीमाभित्रै रहनेगरी बजेट ल्याउने जनाएको छ । बजेट १७ खर्ब हाराहारीको बनिरहेको अर्थमन्त्रालयका अधिकारीले बताएका छन् । बजेटमा सामाजिक सुरक्षा, कर्मचारीको तलब वृद्धि, करका दर परिवर्तन, आयकर छुट, भन्सार छुट, इन्धनमा १० रुपैयाँ कर कटौतीलगायतका कार्यक्रम समेट्ने तयारी छ ।उच्च आयात र घट्दो विप्रेषणका कारण भुक्तानी सन्तुलनमा चाप परेकाले आन्तरिक उत्पादनलाई जोड  दिनेगरी  नयाँ  बजेट  ल्याउने  सरकारको  तयारी  छ  ।  स्रोत र खर्च क्षमतालाई केन्द्रमा राखेर कार्यान्वयनमुखी बजेट ल्याउन विज्ञले पनि सुझाव दिएका छन् ।

चालु आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब रुपैयाँको बजेट आएको थियो । तर अर्धवार्षिक समीक्षाबाट आकार घटाउँदै १५ खर्ब ४६ अर्ब रुपैयाँको बनाइएको थियो ।नयाँ बजेटको कार्यान्वयनमार्फत ६ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धिदर हुने योजना आयोगको प्रक्षेपण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?