नयाँ-नयाँ रेकर्ड राख्दै सर्वाधिक कमाइ गर्ने फिल्म बन्यो ‘कबड्डी ४’

दमौली : रिलिज भएको १० दिनमा १७ करोड कमाउँदै सर्वाधिक कमाइ गर्ने फिल्म फिल्म बनेको छ।रामबाबु गुरुङले निर्देशन गरेको फिल्म ‘कबड्डी ४’ सर्वाधिक कमाइ गर्ने फिल्म बनेको हो ।

आइतबारसम्म यसले १७ करोड कमाउँदै ‘छक्का पन्जा ३’ को रेकर्ड तोडेको हो। यसअघि ‘छक्का पन्जा ३’ ले १६ कराेड कमाएकाे थियाे।

पहिलो सातामा १५ करोडमाथि व्यापार गरेको फिल्मले आइतबारसम्म १७ करोड कमाएको जानकारी वितरक गोविन्द शाहीले दिए।

‘हामीले आइतबारसम्मको बक्स अफिस कमाइ पाएका छौं। फिल्मले १० दिनमा १७ करोड व्यापार गरेको छ,’ उनले भने।

‘फाइनल म्याच’ भनिएको फिल्ममा काजीको बिहे हुन्छ कि हुँदैन भन्ने कथा प्रस्तुत गरिएको छ। यसलाई दर्शकहरूले निकै रुचाइरहेका छन्। गत शुक्रबार हलिउड फिल्म ‘टप गन: मेभरिक’ र भारतीय फिल्म ‘विक्रम’ र ‘सम्राट पृथ्वीराज’ प्रदर्शन हुँदा पनि ‘कबड्डी ४’ ले नै उच्च शो हासिल गरेको छ।

फिल्मले अझै राम्रो व्यापार गरिरहेको वितरक शाहीले जानकारी दिए।

सिरिजको रेकर्ड सिरिजले तोड्यो

नेपाली बक्स अफिसमा सबैभन्दा बढी कमाउने फिल्ममा ‘छक्का पन्जा’ सिरिजको एकछत्र राज थियो। ‘छक्का पन्जा’ले बक्स अफिसमा १५ करोड हाराहारीको व्यापार गरेको थियो। ‘छक्का पन्जा २’ ले १४ करोडको हाराहारीको व्यापार गरेको थियो भने ‘छक्का पन्जा ३’ ले १६ करोड कमाएको थियो।

छक्का पन्जा सिरिजको रेकर्ड कुनै फिल्मले तोड्न सकेका थिएनन्। हाल सिरिजको रेकर्ड सिरिजले नै तोडेको छ। पहिलो दिनमा सर्वाधिक कमाउने पनि ‘छक्का पन्जा ३’को नाम थियो। ‘छक्का पन्जा ३’ ले १ करोड ८० लाख कमाएको थियो। यसको रेकर्ड तोड्दै ‘कबड्डी ४’ ले पहिलो दिन ३ करोड माथि व्यापार गरेको छ।

‘कबड्डी ४’ ले ‘छक्का पन्जा ३’ को लाइफटाइम कमाइलाई उछिनेको छ। ‘छक्का पन्जा ३’ ले बक्स अफिसमा १६ करोड कमाएको थियो भने ‘कबड्डी ४’ ले दश दिनमै १७ करोड कमाएको छ।

कबड्डी ४ ले बनाएका रेकर्ड

१. सर्वाधिक शो पाउने फिल्म

२. उच्च अग्रिम टिकट बुकिङ हुने फिल्म

३. पहिलो दिन सबभन्दा धेरै कमाउने फिल्म

४. पहिलो साता सबभन्दा धेरै कमाउने फिल्म

५. अष्ट्रेलियामा धेरै कमाउने फिल्म

६. दोस्रो साता धेरै कमाउने फिल्म

७. सर्वाधिक कमाइ गर्ने फिल्म

सेतोपाटि 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?