
विश्वकप-२०२२ को एसियाली छनोटको आफ्नो अन्तिम खेलमा नेपाल शुक्रबार अस्ट्रेलियासँग ३–० ले पराजित भएको छ ।
जबर अल अहमद इन्टरनेसल स्टेडियममा भएको खेलमा नेपालले पूरा दोस्रो हाफ १० खेलाडीमा सीमित रहेर खेल्नु परेको थियो ।
खेलको सातौं मिनेटमा म्याथ्यु लेकीको गोलले अग्रता बनाएको अस्ट्रेलियाका लागि ३८ औं मिनेटमा फ्रान काराकिकले गोल थपे।पहिलो हाफको अन्तिम मिनेटमा आक्रमणको क्रममा रहेका अस्ट्रेलियन खेलाडीलाई फउल गरेपछि नेपालका रोहित चन्द रेडकार्ड खाँदै बाहिरिएका थिए। यद्यपि दोस्रो हाफमा दश खेलाडीमा सीमित नेपालले सम्हालिएको प्रदर्शन गरेको थियो।
पहिलो हाफमा दुई गोलले अघि रहेको अस्ट्रेलियाका लागि तेस्रो गोल खेलको ५७ औं मिनेटमा मार्टिन बोयलले गरेका थिए।
फिफा वरीयताको ४१ औं स्थानमा रहेको अस्ट्रेलियाले यसअघिको खेलमा नेपालमाथि ५-० को सानदार जित निकालेको थियो।
यो हारसँगै नेपालको एसियन कप छनोटको तेस्रो चरण पुग्ने सम्भावना सकिएको छ । अब तेस्रो चरण पुग्न नेपालले प्लेअफ चरण पार गर्नुपर्ने हुन्छ । सबै समूहका पुछारका टोली र चौथो स्थानमा रहने कमजोर चार टोलीले प्लेअफमा प्रतिस्पर्धा गर्नेछन् । अष्ट्रेलिया भने ७ खेलमा २१ अंकसहित विश्वकप छनोटको तेस्रो चरण तथा एसियन कपका लागि छनोट भएको छ । नेपाल भने ८ खेलमा ६ अंकसहित चौथो स्थानमा समेटियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?