के हो नाइरोबी फ्लाई ?

अस्पतालका छालारोग विशेषज्ञ डा‍‍‍ प्रज्वल पुडासैनीका अनुसार नाइरोबी फ्लाई भनेको बिटल्स प्रजातिको किटाणु (कीरा) हो । विश्वभर बिटल्सका ३ लाख ५० हजारभन्दा बढी प्रजाति छन्‚ तीमध्येको यो एक हो । कालो र सुन्तले रंगको देखिने यो किरालाई ‘केन्यन फ्लाइज’ वा ‘ड्र्यागन बग’ पनि भनिन्छ । यसलाई ‘पेडेरस डर्माटाइटिस’ पनि भनिन्छ ।

यो कीराले गराउने एलर्जी हरेक वर्षाको समयमा देखिने गरेको चिकित्सकहरू बताउँछन् । डा‌‍ पुडासैनी भन्छन्‚ ‘यो कीराले टोक्दैन । यदि यो कीरा केही गरी माडियो भने यसबाट निस्किने टक्सिनले विभिन्न लक्षणहरू देखाउन थाल्छ । लक्षणहरू १२ घण्टादेखि २ दिनसम्म आइसक्छन् । यसको एलर्जी निको हुन १ देखि २ हप्ता लाग्छ र आफैं निको भएर जान्छ । तर‚ धेरै चिलाएमा भने यसले अरुतिर संक्रमण गराउन सक्छ । कन्याउँदा दाग र खत बस्न सक्छ ।

’ कीराको टोकाइले नभएर कीरा माड्दा त्यसले उत्पादन गर्ने ‘पेड्रिन’ भन्ने टक्सिनले लक्षणहरू देखिने हुन्छ । सामाजिक सञ्जालमा अहिले यो कीराको बारेमा विभिन्न पोस्ट भाइरल भइरहेको छ । साथै सिक्किमलगायत पूर्वी नेपाल तथा भारतसँग सीमा जोडिएका जिल्लाहरुमा यो देखिएको छ । चिकित्सकहरुका अनुसार धेरै बिरामीहरू यसलाई जनै खटिरा, मंकीपक्सको लक्षण हो भनेर झुक्किने गरेका छन् । त्यसैले फार्मेसीभन्दा विशेषज्ञ चिकित्सकको मै जानुपर्ने हुन्छ ।

‘हरेक वर्षात्‌को मौसममा देखिन्छ । यो एलर्जी हो । धेरै आत्तिनुपर्ने आवश्यकता छैन । कुनै यसले कुनै जटिल प्रकारका जोखिमहरू ल्याउँदैन,’ डा पुडासैनीले भने ।

कस्ता हुन सक्छन् लक्षण ?

जनै खटिराजस्तो फोका आउने ।

– ठूलो खालको पानी फोका आउने ।–

पीप फोका आउने ।– छाला रातो हुने ।

– पोल्ने।– रातो दाबर तथा बिमिरा आउने ।

– रातो धर्सेखालको एलर्जी हुने ।

चिकित्सकहरूका अनुसार यो दुईवटा छाला जोडिएको भाग जस्तो कुहिना तथा घुँडामा आफ्नै शरीरबाट सरेर फोकाहरु निक्लन सक्दछ साथै कहिलेकाहीँ यौनांगको वरिपरी पनि आउन सक्छ । नाइरोबी फ्लाईले गराउने लक्षण कपालमा लगाउने कलरको कमेकिल, घामको विकीरण, जनै खटिरा, पोलेको घाउले हुने अवस्था पनि उस्तै हुन सक्ने हुन्छ । डा पुडासैनी भन्छन्, ‘छालारोग विशेषज्ञहरुले यो हेर्नेबित्तिकै थाहा पाउन सक्छन् तर कहिलकाहीँ अरु रोगसँग पनि छुट्याउनका लागि बायोप्सी गर्नुपर्ने हुन सक्छ ।’

कसरी सावधानी अपनाउने ?
छालारोग विशेषज्ञ डा पुडासैनीले यो किरा देखिनेबित्तिकै किरालाई हातले नछोई पत्रिका वा अरु चिजले कीरालाई हटाई छोइएको ठाउँमा साबुन पानीले सफासँग पखाल्नुपर्ने बताउँछन् । भन्छन्,‘ किरा माड्नुभएन । देख्नेबित्तिकै फाल्ने, बेटाडिन हालेर कीरा बसेको ठाउँमा सफा गर्न सकिन्छ ।’ कीराले संक्रमण गराइसकेमा नआत्तिने र यदि बढी नै चिलाए वा पोलेमा चिकित्सकको सल्लाह लिनुपर्ने उनले बताए ।

– फूल बाहुले लुगा लगाउने ।

– झूल लगाएर सुत्ने ।

– सेतो बत्तीले किरालाई आकर्षित गर्ने हुनाले बत्ती निभाएर मात्र सुत्ने ।

– फोहोरमैला हुन नदिने ।

– पोलेमा चिसो आइसले सेक्ने ।

– धेरै नै दुःख दिएमा नजिकको स्वास्थ्यसंस्थासँग सम्पर्क गर्ने आदि ।

इकान्तिपुरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?