व्यास नगरपालिकाले नगर कार्यपालिकाको नियमित वैठकमा विभिन्न शिर्षकमा निर्णय गरेको छ ।
नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बिहीबार सम्पन्न कार्यपालिकाको नियमित वैठकमा व्यास–१० दुम्सी आधारभुत स्वास्थ्य केन्द्रमा व्यास नगर कोभिड अस्पताल सञ्चालन गर्ने भएको छ । उक्त स्वास्थ्य केन्द्रमा २५ वेडको व्यास नगर अस्पताल व्यवस्थापन गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
बैठकले अस्पताल सञ्चालनार्थ सोही वडाका अध्यक्ष तुलसीराम सापकोटाको अध्यक्षतामा ५ सदस्यीय समिति गठन गर्ने निर्णय गर्नुको साथै पि सि आर ल्याब समेतलाई आवश्यक जनशक्ति करार सेवामा लिन प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा छनोट समिति गठन गर्ने निर्णय गरेको छ ।
साथै व्यास नगरपालिका वडा नं ८ बर्लाचिमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न स्वास्थ्य केन्द्र सञ्चालन गर्ने निर्णय भएको व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
यसैगरी व्यास–७ शेषमटारमा व्यास नगर समता विद्यालय सञ्चालन गर्न सम्बन्धित वडा अध्यक्ष शतिषचन्द्र न्यौपानेको अध्यक्षतामा पाँच सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ ।
त्यस्तैगरी नगरपालिका भित्र बाढीले पुर्याएको क्षतिलाई पुनर्स्थापना गर्न नगरपालिका आफैले जाली बुन्ने कार्यमा पुर्वाधार तथा योजना शाखालाई जिम्मा दिने र नगरमा नगर प्रमुखको अध्यक्षतामा र वडामा वडा अध्यक्षको अध्यक्षतामा विपद् व्यवस्थापन समिति संशोधित ऐन अनुसार पुनर्गठन गर्ने निर्णय भएको छ ।
साथै कर्मचारी समायोजन एवं स्तरबृद्दी पछि नगरपालिका संगठन संरचनामा संशोधन गर्नुपर्ने भई विशेष नगर सभा बस्नु पर्ने देखिँदा सम्बन्धीत सबै पक्षसंग परामर्श गरी संशोधन प्रस्ताव १५ दिन भित्र पेश गर्न उप–प्रमुख मीरा जोशीको संयोजकत्वमा प्रस्ताव समिति गठन गर्ने निर्णय गरेको श्रेष्ठले बताए ।
नगरपालिकामा व्यवसाय कर विविध कारणले उठ्न ढिलाई भएको देखिँदा छुट सम्बन्धमा प्रस्ताव पेश गर्न राजश्व परामर्श समितिलाई जिम्मा दिने निर्णय समेत गरेको छ ।
येसैगरि आ.ब २०७७/०७८ मा उपभोक्ता समिति मार्फत भएका योजनाहरु यसअघि प्रकाशित भैसकेको छ ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?