दमौली : तनहुँ क्षेत्र नं. १ को चुनावी प्रतिस्पर्धा निकै रोचक एवं सघन बन्ने देखिन्छ। पाँच दलीय सत्ता गठबन्धन तालमेलबाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका बरिष्ट नेता रामचन्द्र पौडेललाई जिताउन सत्तापक्षका नेताहरु कम्मर कसेर लागेका छन् भने आफ्नै पार्टीका पुर्व नेता उनी विरुद्ध उमेदवार बनेका छन्।
पौडेलविरुद्ध तनहुँ–१ को प्रतिनिधि सभा सदस्यका लागि कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री गोविन्दराज जोशी र एमालेका नेता एक बहादुर रानाले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै पौडेलविरुद्ध तनहुँ कांग्रेसका पूर्व जिल्ला सचिव विश्व बास्तोलाले स्वतन्त्र रुपमा उम्मेवारी दर्ता गराएपनि उनले आफ्नो चुनवी तयारी नपुगेको कारणले उम्मेदवार फिर्ता गरेका छन् ।
प्रतिनिधिसभा कांग्रेसबाट रामचन्द्र पौडेल, प्रदेशसभा ‘क’मा कांग्रेसबाटै अशोककुमार श्रेष्ठ र प्रदेशसभा ‘ख’ मा माओवादीका हरिमान चुमानले उम्मेदवारी दर्ता गरेका छन् ।
यता गठबन्धनमा असन्तुष्टि जनाउदै प्रदेशसभा ‘क’ र ‘ख’ मा एकीकृत समाजवादीबाट विद्या ढकाल र कलिला खान उम्मेदवारी दर्ता गरेका छन् । माओवादीको सहयोगमा प्रतिनिधिसभामा लड्न लागेको कांग्रेसका उम्मेदवार पौडेल ढुक्क भने देखिएको छैन।
कांग्रेसकैदुई नेताबीच चर्को प्रतिस्पर्धाले चुनावी गणितमा असर पार्न सक्ने विश्लेषण समेत हुन थालेका छन्।
कांग्रेसबाटै निर्वाचन जितेर विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका जोशीले केही वर्ष यता पौडेलसहित, कांग्रेसका अन्य उम्मेदवारविरुद्ध समेत विभिन्न तिकडम गर्दै आएका छन्।
२०७४ को निर्वाचनमा पनि जोशीले प्रतिनिधि सभा सदस्यका लागि रामचन्द्रविरुद्ध उम्मेदवारी दिएका थिए। जोशीको भ्रष्टाचारको मुद्दा अदालतमा विचाराधीन रहेकाले उम्मेदवार बन्न नपाउने भन्दै वरिष्ठ नेता पौडेलको उजुरीपछि आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो।
२०७६ साउन १० मा नेपाली कांग्रेसको अनुशासन समितिले नेता पौडललाई तनहुँ–१ बाट हराउन भूमिका खेलेको आरोप लगाउँदै जोशीलाइ पार्टीको सदस्य समेत नरहने गरी पाँच वर्षका लागि कारबाही गरेको थियो।
कांग्रेसको बलियो पकड क्षेत्र मानिएको तनहुँ -१ मा अंकगणितका हिसावबाट हेर्ने हो भने गठबन्धनले जित्नुपर्ने हो । तर, उनीहरु ढुक्क बन्न सकिरहेका छैनन् ।
किन डरायो कांग्रेस?
प्रतिनिधिसभामा प्रतिस्पर्धा गर्न ठिक्क परेको कांग्रेसलाई दुई वटा विषयले ढुक्क हुन दिएको छैन। आफ्नै पार्टीका पुर्व नेता उनी विरुद्ध उमेदवारी दर्ता गर्नु उनका लागि केहि धेरै मतको असर पर्ने देखिन्छ ।
व्यास नगर कार्यसमितिका कोषध्यक्ष नगेन्द्र पौडेलले पार्टी परित्याग गरी प्रदेशसभा (क)मा उम्मेदवारी दर्ता गरेपनि उनले पछि फिर्ता गरेका छन् । उम्मेदवार फिर्ता नगर्ने अठोट राखेका न्यौपानेले फिर्ता गरेपनि उनि सन्तुष्ट भने देखिदैन।
पाँच दलीय सत्ता गठबन्धनलाई चुनौती दिदै तनहुँ -१ मा साझेदार दल नेकपा एकीकृत समाजवादीले प्रदेशसभा ‘क’ र ‘ख’ मा उम्मेदवारी दिनु कांग्रेसको लागि अर्को बेफाइदा देखिन्छ , तर नेकपा एसको जनमत भने कमजोर देखिन्छ। कमजोर जनमत भएको पार्टीको उम्मेदवार रहँदा समग्र परिणाममै असर गर्न सक्ने विश्लेषण कांग्रेसको छ।
त्यसो त २०७४ सालमा एमालेबाट जितेर अहिले नेकपा एसमा रहेका पुर्व श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) बारा-४ बाट टिकट पाए ।प्रतिनिधिसभा छाड्दै गर्दा एसका जिल्ला नेताहरुले प्रदेशसभामा हामीले पाउनुपर्ने उनीहरुको दाबी छ ।
तर कांग्रेस नेताहरु भने एसका नेताहरुले भनेजसरी प्रदेशसभामा नेकपा एसलाई बुझाउन तयार देखिँदैनन्।
एमाले कांग्रेसको भर
सांगठनिक रुपमा बलियो मानिएको एमाले भने ढुक्क देखिन्छ। कांग्रेसमा टिकट वितरणमा असन्तुष्टि जनाएर स्वतन्त्र उम्मेवार दर्ता गर्नु र गठबन्धनमा आबद्ध अन्य दलको कमजोर जनमतका कारण एमाले हौसिएको जस्तो मान्न सकिन्छ ।
तनहुँ-१मा एमालेको मुख्य प्रतिस्पर्धी कांग्रेस हो। तर कांग्रेसमा पनि स्थानीय तहको चुनाव देखि नै टिकट वितरणमै बीचमा अन्तरविरोध देखिन्छ। कांग्रेसका महासमिति सदस्य पूर्ण गुरुङले पार्टी नै परित्याग गरी एमालेबाट प्रदेश सभातर्फ(ख) उम्मेदवारी दर्ता गर्नु एमालेका लागि केहि मत फाइदा पुग्ने देखिन्छ ।
कस्तो छ अंकगणित?
गत वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा तनहुँ–१ मा कांग्रेसका वडा अध्यक्षका उम्मेदवारले ३२ हजार ३८९ मत पाएका थिए । यस्तै माओवादीको ९ हजार ३७, नेकपा एकीकृत समाजवादीको ९०४, एमालेको २२ हजार २ सय, स्वतन्त्रको ४ हजार ६४२ र राप्रपाको एक हजार ७३० मत छ ।
यहाँ गठबन्धनसँग ४२ हजार ३३० मत रहँदा एमाले, स्वतन्त्र र राप्रपाको मत जोड्दा २८ हजार ५७२ मतमात्र छ । तनहुँ–१ मा एमाले, स्वतन्त्र र राप्रपाको मत जोड्दा पनि गठबन्धन १३ हजार ७५८ मतले अगाडि छ ।
व्यास नगरपालिकामा कांग्रेसको ११ हजार २५६, माओवादीको १ हजार, एकीकृत समाजवादीको ५६३ र जसपाको ५३ मत छ । यस्तै एमालेको ६ हजार १२३, स्वतन्त्रको एक हजार ४०९ र राप्रपाको ५९५ मत छ । व्यास नगरपालिकाका वडा नम्बर ५ र ६ तनहुँ–२ मा पर्छन् ।
भानुमा कांग्रेसको ११ हजार २४२, माओवादीको ८२०, एकीकृत समाजवादीको ३३८ र जसपाको १ मत छ । यस्तै एमालेको ७ हजार ७०६, स्वतन्त्र २ हजार ९१९ र राप्रपाको ९२६ मत छ ।
बन्दीपुर गाउँपालिकामा कांग्रेसको २ हजार ८७४ र माओवादीको २ हजार ९६८ मत छ भने एमालेले ३ हजार ४१५ र राप्रपाले ४८ मत ल्याएको छ ।
देवघाट गाउँपालिकामा कांग्रेसको ४ हजार १६९, माओवादीको ६६१ र एकीकृत समाजवादीको ३ मत छ । यहाँ एमालेको ३ हजार ३२० र राप्रपाको ४८ मत आएको छ ।
यस्तै आबुखैरेनी गाउँपालिकामा कांग्रेसको २ हजार ८४८, माओवादीको ३ हजार २५ मत छ भने एमालेको एक हजार ६४६ मत छ ।
यस्तै स्वतन्त्रले ३१४ पाउँदा राप्रपाको १६१ मत छ ।
तनहुँ-१ मा कांग्रेसका उम्मेदवार पौडेलको चुनावी इतिहास
२०७४ मा वाम गठबन्धनबाट एमालेका उम्मेदवार किसान श्रेष्ठसँग पराजित भएका पौडेल अहिले पाँच दलीय गठबन्धनका साथ चुनावी मैदानमा छन् । उनी ०७४ मा श्रेष्ठसँग ६ हजार ४१४ मतान्तरले पराजित भएका थिए । श्रेष्ठले ३४ हजार ४ सय ८९ मत ल्याउँदा पौडेलले २७ हजार ६७५ मत मात्र पाएका थिए ।
तर आधा दर्जन पटक सांसद बन्ने धोको पौडेलको छ । पौडेल ०४८ को निर्वाचनमा तनहुँ १ र ५१ सालको मध्यावधि चुनावमा तनहुँ २ बाट सांसद निर्वाचित भए । त्यसपछि उनले ०७४ सम्म तनहुँ २ बाट लगातार चुनाव जित्दै आएका थिए । उनी ०५६ सालमा तनहुँ २ बाट संसद सदस्यमा तेस्रो पटक निर्वाचित भए ।
०६४ मा भएको पहिलो संविधानसभा चुनावमा तनहुँ २ बाट चौथो पटक निर्वाचित भए । ०७० मा सम्पन्न संविधान सभाको दोस्रो निर्वाचनमा तनहुँ २ बाट पाचौं पटक निर्वाचित भएका थियो।
तनहुँ –१ बाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ,पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी, नेकपा एमालेका केन्द्रीय सल्लाहकार सदस्य एकबहादुर राना, राप्रपाका जिल्ला अध्यक्ष विनोदकुमार घर्ती लगायत अन्य दलका उम्मेदवार चुनावी मैदानमा छन् ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?