काठमाडौं : नेपाली पब्जी टिम डीआरएसले ग्लोबल इस्पोर्टस फेडेरेसनको आयोजनामा हुन लागेको विश्व च्याम्पियनसिप ग्लोबल इस्पोर्टस गेम्सका लागि छनोट भएको छ ।
आइतबार भएको एसियाली छनोट पार गरी डीआरएसले डिसेम्बरमा टर्कीको इस्तानबुलमा हुने प्रतियोगिताका लागि आधिकारिक मान्यता पाएको हो । आआफ्नै बुट क्याम्पमा बसेर भएको प्रतिस्पर्धामा नेपाल शीर्ष चारभित्र रहेर विश्वस्तरीय प्रतिस्पर्धाका लागि छानिएको हो ।
समूहमा ८ देशका टिमबीच प्रतिस्पर्धा भएको थियो । मंगोलिया, चाइनिज ताइपेई, भियातनाम र नेपाल छनोट हुँदा ब्रुनाई, पाकिस्तान, माल्दिभ्स र श्रीलंका पराजित भएको हो । डीआरएसका दीपेश गुरुङ, साहस भण्डारी, सुविन कुमार प्रजापती, समीर गुरुङ र संगीन भट्टराईको टिमले एसियन छनोटमा जित हासिल गरेको हो । यो टिम आसन्न एसियाली खेलकुदका लागि नेपालको प्रतिनिधित्व गर्ने तयारीसमेत गर्दैछ ।
डीआरएसलाई घरेलु छनोट प्रतियोगिता विना नै विदेशमा खेल्न अनुमति दिइएकोमा अन्य टिमले विरोध जनाएका छन् । तर, नेपाल इस्पोर्टस संघका अध्यक्ष सुरज डंगोलले भने संघको मापदण्डअनुसार नै डीआरएसले अनुमति पाएको दावी गरे ।
संघले वर्षमा एकपल्ट आफैंले गर्ने राष्ट्रिय प्रतियोगिताको नतिजाका आधारमा वर्षभरि हुने वैदेशिक प्रतियोगिताका लागि टिमलाई अवसर लिने मापदण्ड बनाइएको जानकारी दिए ।
गत सेप्टेम्बरमा काठमाडौंमा भएको राष्ट्रिय प्रतियोगितामा हाइ भोल्टेज टिमले उपाधि जितेको थियो भने डीआरएस उपविजेता बनेको थियो ।
सोही आधारमा हाइ भोल्टेजले अन्तर्राष्ट्रिय इस्पोर्टस फेडेरेसन (आईएसएफ)ले इण्डोनेसियाको बालीमा आयोजना गर्न लागेको विश्व च्याम्पियनसिपका लागि अनुमति पाएको थियो । तर, दक्षिण एसियाली छनोटमै सो टिम पराजित भयो ।
‘आईएसएफ र ग्लोबल ईस्पोर्टस फेडेरेसन (जीएसएफ) ले गर्न लागेको ग्लोबल इस्पोर्टस गेम्स २०२२, इस्तानबुलको आयोजना मिति एकै समयमा पर्ने भएपछि हामीले दोस्रो भएको टिम डीआरएसलाई अनुमति दिएका हौं,’ संघका अध्यक्ष सुरज डंगोलले भने ।
आईएसएफ र जीएसएफ इस्पोर्टसमा समान गतिविधि गर्ने विश्वस्तरीय महासंघ हुन् । नेपालले दुवै महासंघको मान्यता लिएको छ । तर, एसियाली खेलकुद, ओलम्पिकजस्ता आधिकारिक प्रतियोगितामा सहभमागिताका लागि आईएसएफमार्फत जानुपर्नेछ ।
अनलाइनखबर











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?