दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडामा एक युवकले आफूसँगै काम गर्ने साथीलाई रडले हानेर हत्या गरेका छन्। २५ वर्षीय नविन कुमार चौधरीले रडले हानेर आफ्नै साथी २४ वर्षीय विरम आलेको हत्या गरेका हुन्।
शुक्रबार दिउँसो दुलेगौँडा बजारमा रहेको रिमाल अटो केयरमा काम गरी रहेको बेला सर्लाही गौरीशंकर नगरपालिका–५, बगरवा स्थायी घर भई हाल दुलेगौडा बस्ने २५ वर्षीय नविन कुमार चौधरीले एक्कासी पछाडिबाट रडले प्रहार गर्दा गम्भीर घाइते भएका आलेको उपचारको क्रममा मृत्यु भएको हो ।
चौधरीले टाउको र शरीरको विभिन्न भागमा रडले चार/पाँच पटक हानेको देखिएको जिल्ला प्रहरी कार्याल तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
रड प्रहारपछि गम्भीर घाइते भएका आलेलाई प्रहरीले तत्कालै उद्धार गरी तनहुँ सेवा अस्पताल दुलेगौडामा लगेकोमा सामान्य उपचारपछि थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको थियो ।
उपचारको क्रममा आलेको दिउँसो करिब साढे १ बजेतिर अस्पतालले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।
शव अहिले अस्पतालमै रहेको छ । चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । व्यक्तिगत रिसिईबीको कारण रड प्रहार गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आले र चौधरी दुवैजना अटो केयरका कर्मचारी हुन् ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?