रामचन्द्र पौडेललाई प्रश्न- प्रधानमन्त्रीका लागि दौडधुप गर्नुभएको हो ?

 चुनावको अन्तिम परिणाम आइसकेको छैन । तर, प्रमुख दलका शीर्ष नेता प्रधानमन्त्रीका लागि दौडधुप गर्न थालेका छन् । सोमबार बिहान कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवास पुगे । पौडेल तनुहँ १ र नेपाल रौतहट १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । नेकपा एसका अध्यक्ष नेपालसँग भेटपछि नेता पौडेलसँग शिलापत्रले गरेको संक्षिप्त कुराकानी:

माधव नेपालसँग भेटेर फर्किनुभयो । के कुराकानी भयो ?

गठबन्धनलाई थप सुदृढ बनाएर लैजाने कुरा भएको छ । पावर शेयरिङ मिलाएर जाने कुरा भएको छ । पोजिटिभ कुरा भएको छ ।

तर, कांग्रेसले कम्युनिस्टलाई भोट हालेन भन्ने छ । गठबन्धनमा भित्रभित्र खटपट सुरु भएको आकलन भइरहेको छ नि ?

कतिपय ठाउँमा भोट ट्रान्सफर भएन होला । कांग्रेसले कम्युनिस्टलाई, कम्युनिस्टले कांग्रेसलाई भोट हालेनन् होला । तर, सबै ठाउँमा त्यस्तो भएको छैन । अपवाद होला । यसलाई लिएर गठबन्धन भत्किनु हुँदैन । गठबन्धनको जित भएको छ । माधव नेपालका धेरै उम्मेदवारले कांग्रेसकै भोटले जित्नुभएको छ । त्यसैले संविधानको रक्षाका लागि यही गठबन्धन रहन्छ ।

त्यसो भए गठबन्धन टुट्दैन ?

गठबन्धन फुटाउन विभिन्न कोसिस र प्रलोभन आइरहेको माधवजीले भन्नुभयो । तर, हामी गठबन्धनलाई राम्रोसँग लिएर जाने हो । गठबन्धन जोगाउने हो ।

तपाईंले प्रधानमन्त्रीका लागि दौडधुप गर्नुभएको हो  ?

देशका लागि ठूलो लगानी गरेको छु । अहिले मेरै आवश्यकता देख्छु । अब अलमलिएर बस्नुहुँदैन ।

माधव नेपाल सहमत हुनुहुन्छ त ?

पोजिटिभ हुनुहुन्छ । उहाँ र मेरो विचार पहिलेदेखि नै मिल्ने गरेको छ ।

शेरबहादुर देउवा तपाईंलाई प्रधानमन्त्री बनाउन तयार हो ?

उहाँ नकारात्मक हुनुहुन्न । सहज रूपमा लिनुहुन्छ । मेरो प्रस्ताव, सल्लाह र सुझावलाई मान्नुहुन्छ ।

तर, महामन्त्री गगन थापाले पनि प्रधानन्त्रीको दाबी गर्नुभएको छ नि ?

इतिहासको मूल्यांकन हुनुपर्छ । राष्ट्रका लागि गरेको त्याग, योगदान र अनुभव हेर्नुपर्छ । यो अनुभवलाई राष्ट्रले उपयोग गर्ने कि नगर्ने ? पालो पनि त चाहियो । सुशासनका लागि जीवन समर्पण गरेको छु । गणितीय हिसाबले कसैलाई आउट गर्न मिल्दैन । बाहिर फाल्न मिल्दैन । कमिसन र भ्रष्टाचार रोकियो भने देशको विकास हुन्छ । यसका लागि मेरो आवश्यकता छ ।

गगन थापाले साथ दिनुहुन्छ त ?

उहाँ युवा हो । तर हतार गरेर, व्यक्तिको चाहनाले मात्र हुँदैन । उहाँले मलाई सहयोग गर्नुहुन्छ ।

शिलापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?