दमौली : भारतको अयोध्यामा निर्माणाधीन श्रीराम मन्दिरमा राखिने भगवान श्रीरामको मूर्ति बनाउनका लागि कालिगण्डकी नदीबाट निकालिएको शिला दमौली आइपुगेको छ । बिहिबार पूजाआजा सहित गलेश्वरधाम हुँदै बेनीबजारमा शोभा यात्रा गरी बिदाई गरिएको शिला शुक्रवार दमौलीमा आइपुगेका हुन् ।
भारतको उत्तर प्रदेशमा पर्ने फैजावाद जिल्लाको अयोध्यामा निर्माणाधिन राममन्दिरमा राखिने प्रतिमामा प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम क्षेत्रमा पर्ने कालिगण्डकी नदी किनारको शिला जनकपुरधाम हुँदै अयोध्या पठाउनेछ।
गत आइतबार गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले धार्मिक विधिअनुसार क्षमापूजा र गंगा पुजन गरेर शिला जनकपुर मन्दिरका पिठाधीस राम तपश्वेर दास र अयोध्याको राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकजलाई शिलाको प्रतिक स्वरुप तीनवटा शालिग्राम हस्तान्तरण गरिएको हो ।
उनका अनुसार शिला प्राविधिक रुपमै करिब १ हजारदेखि ५ हजार बर्षसम्म टिकाउ हुने बताए। करिब एकसातामा नेपाल हुँदै अयोध्यासम्म पुग्नेछ।
नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार १८ र १६ मेट्रिक टन तौल भएका, सात फिट लम्बाइ, पाँच फिट चौडाइ र तीन दशमलव पाँच फिट मोटाइका क्वाजराईट र क्याल साइट नाम गरेको छ ।
उक्त स्वागत कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई,प्रदेश सभा सदस्य अशोक कुमार श्रेष्ठ, जित प्रकाश आले, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, धार्मिक संघसंस्था सहित अन्य सरोकारवाला निकायले स्वगत तथा दर्शन गरेका छन् ।
नेपाली कांग्रेसका पूर्व उपसभापति बिमलेन्द्र निधिले गत साउनमा अयोध्या भ्रमणमा गएका अयोध्याको राममन्दिर निर्माण समितिका अध्यक्ष नृपेन्द्र मिश्र, श्रीराम तीर्थ क्षेत्रका महामन्त्री चम्पत राय र भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालसँगको भेटमा अयोध्या भ्रमणमा त्यहाँको निर्माणाधीन राम मन्दिरमा जनकपुरधामको जानकी मन्दिर तथा मिथिलाबासीको तर्फबाट धातुको धनुष नेपालमै निर्माण गरी राख्ने र राम मन्दिरमा राखिने रामको प्रतिमा नेपालको कालीगण्डकी क्षेत्रको शालिग्राम शिलाबाट निर्माण गर्ने प्रस्ताव राखेका थिए।
९ नोभेम्बर सन् २०१९ मा सर्वोच्च अदालतले विवादित स्थलमा राममन्दिर निर्माण गर्न बाटो खुलाएको फैसला सुनाएको थियो। सोही फैसला पछि ५ अगस्ट २०२० मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राममन्दिरको भूमिपूजा गरेर सन् २०२४ भित्र निर्माणकार्य पूरा गरिसक्न निर्देशन दिएका थिए। अहिले सोही स्थानमा राम मन्दिर निर्माण भइरहेको अवस्थामा मन्दिरमा कालीगण्डकीको शिलाबाट निर्माण गरेर भगवान श्रीरामको बाल वयको मूर्ति राखिने छ।
मन्दिरमा निर्माण गरिने श्रीरामको बाल बयको मूर्ती आसपासमा म्याग्दीको कालिगण्डकी नदीका बारेमा समेत प्रचारप्रसार गरिने सहमति समेत भएको छ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?