रोकिराखेको ट्रकमा कार ठोकिँदा तनहुँका तिवारीको मृत्यु

बुटवल : रोकिराखेको ट्रकमा कार र बस ठोकिँदा तनहुँका एक युवकको मृत्यु भएको छ ।

सिद्धार्थ राजमार्गको बेलहिया बुटवल सडक खण्ड अन्तर्गत अञ्चलपुरमा सडकमा रोकिराखेको लु २ ख ६०६ नम्बरको ट्रकमा लु २ ख ६०३८ नम्बरको यात्रुवाहक बस र ग १ च ३७१३ नम्बरको निजी कार ठोक्किएका थिए ।

दुर्घटनामा कारमा सवार तनहुँको भिमाद नगरपालिका वडा नं ५ बस्ने २१ वर्षीय हरिस तिवारीको मृत्यु भएको हो ।

त्यसैगरी कारमै सवार पश्चिम नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नं १ घर भएका ३९ वर्षीय वासु घिमिरे र १६ वर्षीय दीपेश घिमिरे घटनामा घाइते भएको प्रहरीले जनाएको छ ।

बाक्लो हुस्सुका कारण घटना भएको अनुमान गरिएको छ । बिहान करिब साढे ३ बजे दुर्घटना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?