दमौली : लामो समय पछि दरै समाज तनहुँले नयाँ नेतृत्व चयन गर्ने भएको छ । समाजले शनिबार चौथो जिल्ला अधिवेशनको उद्घाटन गरेको छ । अधिवेशनकै दिनमा नेतृत्व चयन गर्ने भनिए पनि सर्वसम्मतमा हुन नसकेपछि लम्बिएको हो ।
समाजको केन्द्रिय निवर्तमान अध्यक्ष तम बहादुर दरैको आतिथ्यतामा अधिवेशनले शनिबार नै नयाँ नेतृत्व चयन गर्ने भनिए पनि सर्वसम्मतमा नेतृत्व चयन हुन सकेन । ३ जना आकांक्षीमध्ये सहमति हुन नसक्दा अधिवेशन लम्बिएको भादगाउँ दरै समाजका अध्यक्ष चिज बहादुर दरैले बताए ।

“समन्वय र सहमतिमा नेतृत्व चयन गर्ने प्रयासमा छौं, सहमतिका लागि छलफलमा जुटिरहेका छौं,” दरैले भने । करिब ८ वर्षपछि भएको अधिवेशनमा आकांक्षी पनि बढेको उनको भनाई छ ।
नेतृत्व लिनका लागि ठाकुर बहादुर दरै, शुक बहादुर दरै र युवराज दरैको आकांक्षी देखिएका छन् । ठाकुर हालका उपाध्यक्ष हुन् । उनले स्वतहः समाजको जिल्ला नेतृत्व पाउनुपर्ने हुन्छ । तर करिब ८ वर्षको अन्तरालपछि भएको अधिवेशनले नेतृत्व लिनेको संख्यामा बृद्धि भएको आकलन गरिएको छ ।
त्यस्तै शुक बहादुर र युवराजले नेतृत्व पाउनुपर्ने दावी गरे पनि उनीहरु भने कार्य समितिका सदस्य मात्रै हुन् । छलफल र समन्वयका क्रममा अन्यमा सहमति जुटे पनि नेतृत्वमा भने सकस भएको समाजका निवर्तमान अध्यक्ष तीर्थ बहादुर दरैले जानकारी दिए । “सर्वसम्मतिमा नै नेतृत्व चयनका लागि छलफलमा छौं,” उनले भने ।
तनहुँको व्यास नगरपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकामा दरै जातिको बसोबास रहेको छ । विशेषगरी व्यास नगरपालिकामा दरै जातिको बसोबास बढी रहेको छ । जिल्लामा करिब २० हजार जनसंख्या रहेको तथ्याङ्कमा रहेको छ ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?