चितवन–२ उपनिर्वाचन : चैत २० गते उमेदवारी दर्ता, यस्तो छ कार्यतालिका

काठमाडौं : चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले आज विज्ञप्ति जारी गर्दै १० गते उपनिर्वाचन हुने जानकारी दिएको हो ।

आयोगको कार्यतालिका अनुसार फागुन १ गतेदेखि चैत १६ गतेसम्म मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुनेछ ।

त्यसैगरी उमेदवारको मनोनयन दर्ता चैत २० गते हुनेछ । उमेदवारको विरोधमा उजुरी दिने चैत २१ गते गर्ने कार्यतालिका छ ।

मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उमेदवारको नामावली प्रकाशन गर्ने काम चैत २२ गते हुने आयोगले जनाएको छ ।

उमेदवारको नाम फिर्ता र उमेदवारको अन्तिम नामावली प्रकाशन गरी उमेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्य चैत २३ गते हुने तय भएको छ ।

गएको मंसिर ४ गते भएको निर्वाचनमा त्यहाँबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने निर्वाचित भएका थिए । तर, नागरिकता विवादमा यही माघ १३ गते सर्वोच्च अदालतको आदेशपछि उनको सांसद पद खारेज भएको थियो । रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?