दमौली | मौसम पूर्वानुमान महाशाखाले आगामी असोज ८ गतेदेखि असोज १९ गतेसम्म तनहुँ जिल्लाका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेपछि व्यास नगरपालिकाले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
नगरपालिकाले बिहीबार सार्वजनिक गरेको अत्यन्त जरुरी सूचनामार्फत सम्भावित वर्षाका कारण बाढी, पहिरो, डुबान, नदी कटान तथा अन्य विपद्का जोखिम बढ्न सक्ने भएकाले नगरवासीलाई सुरक्षित रहन आग्रह गरेको हो।
नगरपालिकाले नदी, खोला, खोल्सा तथा तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन र नदी सतह थ्रेसहोल्ड नजिक नजान अनुरोध गरेको छ। पहिरोको जोखिम रहेका स्थानमा बसोबास गर्ने परिवारलाई विशेष सतर्क रहनसमेत आग्रह गरिएको छ।
त्यस्तै, नगरपालिकाले विपद्को अवस्था आउन सक्ने भएकाले अत्यावश्यक अवस्थामा सुरक्षित स्थानमा जानका लागि आवश्यक तयारी गर्न, घर वरिपरिको पानी निकासका नाला, कुलो तथा ढल सफा राख्न र विद्युत्का तार, पोल तथा कमजोर संरचनाबाट टाढा रहन आग्रह गरेको छ।
बालबालिका, ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिको विशेष ख्याल गर्न तथा अत्यावश्यक कागजात, औषधि, खानेपानी, सुख्खा खाद्यान्न, टर्च र मोबाइल चार्जको व्यवस्था तयारी अवस्थामा राख्न नगरपालिकाले अनुरोध गरेको छ।
वर्षाको समयमा अनावश्यक यात्रा नगर्न र यात्रा गर्नैपर्ने भए सडक तथा मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न पनि सूचनामा भनिएको छ।
बाढी, पहिरो वा अन्य विपद्को अवस्था देखिएमा तत्काल सम्बन्धित वडा कार्यालय, सुरक्षा निकाय वा स्थानीय विपद् व्यवस्थापन संयन्त्रमा खबर गर्न नगरपालिकाले आग्रह गरेको छ।
नगरपालिकाले विपद्सम्बन्धी जानकारी तथा सहयोगका लागि व्यास नगरपालिका ०६५-५६३०३३, ०६५-५६३०३४, विपद् फोकल पर्सन करिम मियाँ ९८४९७३४४४४ तथा नगर प्रहरी निरीक्षक प्रेमराज पन्थ ९८४६९११९१७ मा सम्पर्क गर्न सकिने जनाएको छ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?