देवघाटमा बाख्रा फार्ममा आगलागी हुँदा ३२ लाख रुपैयाँ बराबरको क्षति

दमौली : तनहुँको देवघाट गाउँपालिका–५ मा बाख्रा फार्ममा आगलागी हुँदा ३२ लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय बुद्धिप्रसाद उपाध्यायले सञ्चालन गरेको भट्टराई कृषि तथा बाख्रा फार्ममा गएराति आगलागी भएको हो ।

आगलागीबाट चार वटा बाख्रा जलेर मरेका छन् भने अठार वटा बाख्रा जलेर घाइते भएका प्रहरीले जनाएको छ । बाख्राको गोठ, पराल, दाना, चोकरलगायतका सामान पूर्णरूपमा जलेर नष्ट भएको प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए ।

फार्ममा ६२ वटा बाख्रा, पाँचवटा भैँसी, चारवटा गाई थिए । प्रहरीका अनुसार गएराति साढे एक बजेदेखि लागेको आगो भरतपुर महानगरपालिकाबाट आएको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान ३ बजे निभाइएको हो ।

करिब १४ वर्ष वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया र सिङ्गापुर बसेर फर्किनुभएका उपाध्यायले झन्डै तीन वर्षदेखि फार्म सञ्चालन गर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?