४६ जना कृषकलाई मौरीसहित घार वितरण

दमौली : कृषि ज्ञान केन्द्र तनहुँले ९० प्रतिशत अनुदानमा ४६ जना कृषकलाई मौरी घार वितरण गरिएको छ ।

विहिवार कृषि ज्ञान केन्द्र तनहुँको आयोजनामा मौरीपालन सम्बन्धी स्थलगत तालिम तथा अभिमुखिकरण कार्यक्रममा सहभागी भएका कृषकलाई अनुदानमा मौरी सहितको घार बितरण गरिएको हो ।

सिप पाएसँगै यसलाई व्यावसायिक बनाउन सके आर्थिक आयआर्जन बढ्ने जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले बताए। उनले मौरी पालना सजिलै गर्न सक्ने व्यावसाय भएकाले यसतर्फ अहिलेका कृषकहरु आकर्षित देखेको बताए  ।

कार्यक्रममा ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले किसानको घरमा एक घार भए पनि निर्वाहमुखी भएको भन्दै व्यावसायिक मौरीपालन गर्न सघाउ पुर्‍याउने योजनाका साथ यस पटक ४६ जना मौरी पालक कृषकहरूलाई तालिम दिएर मौरी सहितको घार वितरण गरिएको बताए ।

तिवारीले व्यवस्थापनमा जोड दिन स्थानीय सरकार वडा कार्यालयलाई आग्रह गर्दै मौरी पालनको लागि यो क्षेत्र, ठाउँ सुहाउँदो भएकोले ढुक्क भएर मौरीपालन गरी आय आर्जन गर्न कृषकलाई आग्रह गरे ।

म्यग्दे गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले हरेक वर्ष फरक–फरक किसानलाई फरक फरक प्रकारका लिएर आउने योजना रहेको बताए ।

उक्त कार्यक्रममा म्याग्दे गाउँपालिकाका निवर्तमान अध्यक्ष मायादेवी राना,  जिल्ला समन्वय समिति तनहुँका सदस्य डोल बहादुर सुनार, तिलादेबी राना,समन्वय समितिका निवर्तमान सदस्य गलबहादुर गुरुङ, म्याग्दे- ४ वडाध्यक्ष दिपक श्रेष्ठ लगायत सहभागी रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?