दमौली : जिल्ला प्रशासन कार्यालयले तनहुँमा राष्ट्रिय परिचय पत्र वितरण सुरु गरेको छ । विवरण संकलन थालेको ३ वर्षपछि प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले घिरिङ गाउँपालिका–१ का उत्तम अधिकारीलाई परिचयपत्र वितरण गरेका हुन् ।
अहिले नेपाली नागरिकता प्राप्त व्यक्तिको विवरण दर्ता गर्ने कार्य सञ्चालन भइरहेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।जिल्ला प्रशासन कार्यालयले २०७७ साल साउन १ गतेदेखि राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन सुरु गरेको थियो ।
उनका अनुसार राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले प्रिन्ट गरेर पठाएको परिचय पत्र सिष्टममा ‘इन्ट्री’ गरेर वितरण थालिएको छ ।
परिचय पत्र आएकोबारे प्रशासनले पहिले विवरण भर्दा उल्लेखित मोबाइल नम्बरमा राष्ट्रिय परिचय पत्र आएकोबारे जानकारी पठाउने गरेको छ । त्यसपछि परिचय पत्र लिनका विवरण संकलन गर्दा प्रशासन कार्यालयले दिएको एक प्रति कागज लिएर स्वयं उपस्थित हुनुपर्ने उनले बताए ।
तनहुँमा राष्ट्रिय परिचय पत्रका लागि प्रशासन कार्यालयले १ लाखभन्दा बढीको विवरण संकलन गरिसकिएको छ ।
प्रशासन कार्यालय तनहुँबाट आर्थिक वर्ष २०७९/८० मा मात्र २५ हजार ३ सय १० को विवरण संकलन गरिएको थियो ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?