साउनको अन्तिम सोमबार, देवघाटमा भक्तजनको भीड

दमौली : यो वर्षको साउन महिनाको अन्तिम सोमबार पवित्र तीर्थस्थल देवघाट धाममा दर्शनार्थीको भीड लागेको छ । यस दिन पशुपतिनाथसहित देशभरका शिवालयहरूमा दर्शनार्थी भक्तजनको घुइँचो छ ।

यो वर्ष साउनमा पाँच सोमबार परेको थियो । साउन र सोमबार भगवान् शिवको महिना र बार भएको मान्यताअनुसार प्रत्येक वर्ष यो समयमा शिवालयमा भक्तजनको घुइँचो हुने गर्छ ।

साउनको सोमबार व्रत बसेर महादेवको पूजा–आराधना गरे मनोकांक्षा पूरा भई सुख, शान्ति र ऐश्वर्य प्राप्त हुने जनविश्वास छ । भक्तजनले पशुपतिनाथमा भजनकीर्तनसहित नाचगान समेत गरेका छन् ।

विवाहित महिलाले श्रीमान्को दीर्घायु तथा अविवाहित महिलाले सुयोग्य वर प्राप्तिको कामनाले साउनमा महादेवको व्रत बस्ने गर्छन् । साउनको पहिलो सोमबारदेखि नै व्रत बसी शिवको पूजा–आराधना गर्नेहरूले आज गोदान, पूर्णपात्रलगायत धार्मिक कर्म गरी व्रत समापन गर्छन् ।

तस्बिर : बिहानी मिडिया

  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?