संघीयताबारे पुनर्विचार गर्नुपर्छ, धर्मनिरपेक्षतालाई हटाउनुपर्छ : शंकर भण्डारी

दमौली : नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले संघीयताका विषयमा पनि पुनर्विचार गर्नुपर्ने बताएका छन्।

नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ ले शुक्रबार दमौलीमा आयोजना गरेको क्षेत्रीय सम्मेलनलाई उनले धर्मनिरपेक्ष, संघीयता र निर्वाचन प्रणालीका विषयमा पुनर्विचार गर्नुपर्ने धारणा राखे ।

उनले भने, ‘संघीयतामा राष्ट्रिय सुरक्षाका दृष्टिले समस्याहरू देखिएका छन्। त्यसकारण संघीयताका विषयमा पुनर्विचार गर्नुपर्छ। निर्वाचन प्रणालीका विषयमा पनि पुनर्विचार गर्नुपर्छ।’  उनले यसको नेतृत्व नेपाली कांग्रेसले अब लिने बताए।

उनले वर्तमान संविधानलाई सम्झौताको दस्तावेज भएको बताए। संविधानमा धर्मनिरपेक्षता सनातन धर्म मास्न ल्याइएको दाबी पनि उनले गरे।

‘अहिलेको संविधान सम्झौताको दस्तावेज हो अहिलेको संविधान। विवादस्पद व्यवस्था भएको संविधान जारी भएको दिवस कांग्रेसले मनाउन सक्छ? यसमा घोर आपत्ति हो। संविधान धर्मनिरपेक्षताको कुरा छ। जुन सनातन धर्म मास्न ल्याइएको छ। त्यसलाई संशोधन गर्नुपर्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?