सदिक्षा बनिन् ‘व्यास नगर साइनिङ स्टार’

दमौली : जेसिआई व्यास नगरको आयोजनामा सञ्चालित व्यास नगर साइनिङ स्टारको नवौं संस्करणको उपाधि सत्यवती माविकी छात्रा सदिक्षा राना मगरले हात पारेकी छिन्  । शुक्रवार भएको फाइनलमा मगरले प्रतिस्पर्धी २० जनालाई पछि पार्दै उपाधि जितेकी हुन् ।

विद्यालय अध्ययनरत १५ वर्षसम्मका विद्यार्थी सहभागी प्रतियोगितामा दमौली मोडल एकेडेमीकी आभा श्रेष्ठ फस्र्ट रनर अप तथा दमौली मोडल एकेडेमीकै सदिक्षा थापा मगर सेकेण्ड रनर अप घोषित भए । २० जनामध्ये पहिलो चरणमा छानिएका १० बीच दमौलीमा भएको प्रतिस्पर्धाका आधारमा विजेता छनौट गरिएको थियो ।

प्रतियोगिताका विजेतालाई व्यास नगर प्रमुख बैकुण्ठ न्यौपाने तथा आयोजक जेसिआई व्यास नगरका अध्यक्ष राजु रानाले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा विजेतालाई नगद रु २५ हजार २३, फस्ट रनरअपलाई १५ हजार २३  र सेकेण्ड रनरअपलाई १० हजार २३ नगद पुरस्कारका साथमा गिफ्ट ह्याम्पर पुरस्कार प्रदान गरिएको प्रतियोगिताका संयोजक अजर नागिलाले जानकारी दिए ।

गत वर्षहरुमा केही अगाडि नै सकिने प्रतियोगिता  यसपल्ट भने राती अबेर पछि सकिएको थियो । कार्यक्रममा गायिका टिका प्रसाईको प्रस्तुति रहेको थियो । बालबालिकाहरुको क्षमता विकास तथा प्रतिभा प्रस्फुटनका लागि हरेक वर्ष प्रतियोगिता गरिंदै आएको  महासचिव सुनिल श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?