प्रथम भोटी बजार महोत्सव आज देखि सुरु 

दमौली  : प्रथम भोटी बजार दमौली तनहुँ साँस्कृतिक तथा पर्यटन महोत्सव आज देखि सुरु भएको छ । तनहुँको व्यास नगरपालिका-१ स्थित भादगाउँमा रहेको दोभान युवा क्लबद्वारा आयोजित महोत्सव भादगाउँमा आज देखि सुरु भएको हो ।

महोत्सवको उद्घाटन गर्दै व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेले यस महोत्सवले भादगाउँ क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। साथै उनले नगरपालिकाले स्थानीय व्यापार कृषिको प्रवर्द्धन गर्नका लागि हाट बजार सञ्चालन गर्ने योजना रहेको बताए ।

उपप्रमुख इन्द्रिरा दरैले महोत्सव व्यवसाय सञ्चालन मात्र नभई यहाँका स्थानीय व्यापारको प्रवर्धन गर्ने तर्फ लाग्नु पर्ने बताइन्।

महोत्सवमा परम्परागत कला, सांस्कृतिक औद्योगिक व्यापार कृषि घरेलु हस्ताकला को प्रवर्द्धन गर्ने उद्देश्यसहित महोत्सव गर्न लागिएको क्लबका अध्यक्ष नल बहादुर दरैले जानकारी दिए।

आर्थिक, सामाजिक विकासका साथै स्थानीय उत्पादन, कृषि, धार्मिक, सांस्कृतिक, पर्यटकीयस्थल, उद्योग, व्यापार व्यवसायको सम्भाव्यता अध्ययन गरी प्रवद्र्धन गर्ने उद्देश्यसहित महोत्सव गर्न लागिएको क्लबका अध्यक्ष दरैले बताए ।

२ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको महोत्सवमा करीब ५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान छ । महोत्सवमा कूल आम्दानी २० लाख र नाफा १५ लाख ३५ हजार रुपैयाँ हुने अनुमान छ ।

एक सय ५० स्टल हुने महोत्सवमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती हुने आयोजकले जनाएको छ । महोत्सवमा मादीसेती नदीमा जलविहारको व्यवस्था मिलाइने भएको छ ।

सेती र मादीको संगमस्थल दमौलीमा जलविहारको प्रचुर सम्भावना भए पनि जलविहारले व्यापकता पाउन नसकेको भन्दै महोत्सव अवधिभर सञ्चालन गरिने क्लबका सचिव सुमन वस्नेतले जानकारी दिए ।

व्यास नगरपालिका–१ भादगाउँ स्थित भोटी बजार स्थलमा असोज ७ गतेसम्म महोत्सव सञ्चालन हुनेछ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?