दमौली : प्रतिनिधि सभा तनहुँ क्षेत्र नम्बर १ का सांसद स्वर्णिम वाग्लेको पहलमा व्यास नगरपालिका–१ खकौली स्थित बुद्व दाहाल बहिरा प्राथामिक विद्यालयलाई एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध भएको छ । उक्त रकम बिहीबार विद्यालयलाई हस्तान्तरण गरियो ।
सांसद वाग्लेको पहलमा नेको फाउण्डेशनको सहयोगमा उक्त बहिरा विद्यालयलाई तीन लाख रुपैया उपलब्ध गराउने भएकोमा पहिलो विहिबार एक लाख हस्तान्तरण गरिएको हो ।
उक्त विद्यालय लामो समयदेखी आर्थिक संकटमा गुज्रिएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक विकास सिग्देल, सहसंयोजक सूर्यमणि पौडेल, जिल्ला नेता बिश्व बास्तोला, चूडामणि दाहाल लगायतकाले विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष मणिजंग बस्नेत र प्रअ भैरब पन्थलाई संयुक्त रुपमा एक लाखको चेक हस्तान्तरण गरेका थिए । बाँकी दुई लाख रुपैयाँ पनि चाँडै नै उपलब्ध गराइने रास्वपा जिल्ला संयोजक विकास सिग्देलले जानकारी दिए ।
बहिरा बालबालिकाको लागि प्राप्त भएको उक्त रकमले बालबालिकाहरुलाई पौष्टिक आहार खुवाउनमा सहज हुने बिश्वास लिएको विद्यालयका अध्यक्ष बस्नेतले बताए ।
केही दिनअघि जिल्लामा घरदैलो अभियानमा आएका साँसद वाग्लेलाई भेटी विद्यालयको समस्याका बारेमा जानकारी गराएपछि उक्त सहयोग प्राप्त भएको विद्यालयका प्रअ पन्थले बताए ।
बहिरा विद्यार्थीहरु पढ्ने उक्त विद्यालयमा तनहुँ, गोरखा, लमजुङ, स्याङ्जा, कास्की र नवलपरासीका जिल्लाका २६ छात्र र ७ छात्राहरु अध्ययनरत छन् ।
सरकारले उक्त विद्यालयमा अध्ययन गर्ने प्रत्येक विद्यार्थीलाई मासिक ४ हजारको दरले पोषण खर्च उपलब्ध गराएपनि उक्त रकमले नपुगेर समस्या हुँदै आएको प्रअ पन्थले बताए ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?