गण्डकीका मुख्यमन्त्रीको प्रश्न– १९ जना भेला भएर संघीयता चाहिँदैन भनेर हुन्छ ?

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केही व्यक्ति सडक प्रदर्शनमा उत्रँदैमा राजतन्त्र नफर्किने भन्दै त्यस्ता प्रचारबाजी गर्नेको पछि लाग्न नहुने बताएका छन् ।

पोखरामा मुख्यमन्त्री कार्यालय, मानवअधिकार आयोग र इन्सेकले बुधबार आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले राजावादीलाई जनताले छानेको प्रतिनिधि चित्त नपरेकाले विरोधका आवाज सुनिन थालेको बताए । गणतन्त्रलाई केही मान्छे आएर प्रभावित पार्ने असफल प्रयास भइरहेको मुख्यमन्त्री पाण्डेको दाबी थियो । ‘के प्रसाईं भन्नेको आन्दोलन पोखरामा पनि भएको थियो । मलाई रिपोर्ट आएको थियो ( अघिल्लो दिन १९ जना, भोलिपल्ट १७ जना आएका थिए । त्यति भएर संघीयता काम लाग्दैन भन्ने हुन्छ ?’ उनले प्रश्न गरे ।

संघीयता बलियो बनाउने जिम्मा राजनीतिक दल र राजनीतिज्ञको मात्र नभई सामाजिक संघसंस्था, अभियन्ता, पत्रकारको पनि भएको उनले बताए । संविधानले दिएका अधिकार प्रयोग गर्न पाउने गरेर कानुन बनाउन नसक्दा प्रदेश सरकारले काम गर्न नपाएको मुख्यमन्त्री पाण्डेको भनाइ थियो । ‘दक्षिण अफ्रिकामा संघीयता लागू भएको ३० वर्ष हुँदा पनि उनीहरू सुधारको प्रक्रियामा छन् । हामीले संविधानमा लेखिएअनुसार कानुन बनाउन र चलायमान बनाउन सकेनौं । केही भएन भन्ने कुरा आउँछ भने म त्यसलाई मान्दिनँ,’ उनले भने ।

चालु आर्थिक वर्षलाई ३२ अर्ब रुपैयाँको बजेट सिलिङ भए पनि आफूले स्रोत खोजेर ३३ अर्ब ४२ करोड रुपैयाँको बनाएको मुख्यमन्त्री पाण्डेले सुनाए । प्रदेश सरकारसँग योजना माग गर्नेको लर्को लाग्नु भनेको प्रदेश सरकारप्रति जनताको चासो बढेको मुख्यमन्त्री पाण्डेको दाबी थियो ।

उनले बजेट बनाउनेबेला १० हजार हाराहारी व्यक्ति योजना माग्न मुख्यमन्त्री कार्यालयसम्म आएको जिकिर गरे । ‘माग हेर्दा त एक खर्बको बनाउन मन थियो । जिल्ला घुमेपछि २ खर्ब जति भए हुने रहेछ भन्ने लाग्यो । सबैको चाहना र आवश्यकता पूर्ति गर्न ५ खर्ब चाहिने रहेछ,’ उनले भने, ‘आम्दानी ५ अर्ब छ । अविकसित मुलुकमा धैर्यता चाहिन्छ । प्रदेश सरकारप्रति आशा जागेको छ ।’

प्रधानमन्त्रीलाई भेट्न जनताले नपाउने गरेकोमा अहिले जनताले सरकार प्रमुखलाई भेट्ने, योजना माग्ने वातावरण र गाउँमा विकासका योजना पाउनु पनि संघीयताको उपलब्धि भएको मुख्यमन्त्री पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?