मणिपालमा उपचार गराइरहेका तनहुँका संगम पुलमा कपडा छाडेर बेपत्ता

पाेखरा : उपचारको लागि मणिपाल शिक्षण अस्पताल पुगेका १९ वर्षका संगम मिश्र बेपत्ता भएका छन् ।

तनहुँ घर भइ हाल पोखरा वडा नं. १६, लामाचौर बस्दै आएका संगम आफ्नो बुवा औषधी लिन गएको समयमा  बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी श्रवणकुमार बिकले जानकारी दिए ।

ज्वरो आएपछि उपचारका लागि मणिपाल अस्पतालको आकस्मिक उपचार कक्षमा रहेका संगम मंसिर २५ गते साँझ ६ः३० बजेदेखि बेपत्ता भएका हुन् । चिकित्सकले औषधि ल्याउन भनेपछि संगमका बुबा हरिप्रसाद मिश्र औषधि लिन बाहिर निस्किएका थिए ।

मिश्र हराएको सूचनापछि खोजतलासको लागि गएको प्रहरीको टोलीले नदीपुरतर्फ आउने झुलुङ्गे पुलको बीचमा कपडा र आइडीकार्ड भेटिएको डीएसपी बिकले बताए ।

तीन दिन बित्दासमेत संगमको अवस्था पत्ता नलागेपछि कास्की प्रहरीले पोखरा महानगरपालिका वडा नं. १६ दीपस्थित ड्याममा खोजी गर्ने तयारी गरेको छ ।

‘अस्पतालबाट हराएका मिश्रको खोजतलास गर्ने क्रममा नदीपुरतर्फ आउने पुलमा आइडीकार्ड फेला परेको छ’ – उनले भने, ‘भोलि पोखरा–१६ स्थित ड्याम खोलेर खोजतलास गर्छौं ।’

उनले सेतीको ड्याम खोलेर मिश्रको खोजीकार्य गर्ने जानकारी दिए । प्रहरीले बुधबार सूचना प्रकाशित गरी मंसिर २८ गते विहीबार दिउँसो १२ बजेदेखि ४ बजेसम्म सेती नदी ड्यामभन्दा तलका नागरिक सतर्क हुन, नदी वरपर नजान आग्रह गरेको छ ।

यस सम्बन्धमा मणिपाल शिक्षण अस्पतालले अहिलेसम्म केही जानकारी दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?