दमौली : तनहुँको व्यास नगरपालिकाले बुधबार बजार क्षेत्रका पसलबाट तीन सय ९१ किलो प्लाष्टिक झोला जफत गरेको छ । नगरपालिकाले बजार अनुगमनका क्रममा उक्त परिमाणका प्लाष्टिक झोला जफत गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए ।
नगरपालिकाले गत जेठ १ गतेदेखि प्लाष्टिक झोलामुक्त नगर घोषणा गरेको थियो । दमौलीस्थित सृष्टि प्लाष्टिक उद्योगबाट एक किलो, नसिम स्टोर्सबाट तीन किलो, महाकाली जनरल स्टोर्सबाट एक सय २९ किलो, सूर्य प्लाष्टिक पसलबाट एक सय २३ किलो र ज्ञानमाला भाडा प्लाष्टिक पसलबाट एक सय ३५ किलो प्लाष्टिक झोला जफत गरिएको नगरपालिकाले जनाएको छ।
प्लाष्टिक झोला उत्पादकलाई पहिलोपटक रु दुई हजार, दोस्रोपटक रु चार हजार र तेस्रोपटक रु छ हजार जरिवाना गरिने नगरपालिकाका वन तथा वातावरण समितिका संयोजक रनसिं नेपालीले जानकारी दिए ।
यसैगरी, नियम पालना नगर्ने विक्रेतालाई पहिलोपटक रु पाँच सय, दोस्रोपटक रु एक हजार र तेस्रोपटक रु तीन हजार जरिवाना तोकिएको छ ।
प्रयोगकर्तालाई भने पहिलोपटक रु दश, दोस्रोपटक रु ५० जरिवाना तोकिएको छ । नगरपालिकाले बजार क्षेत्रभित्र प्लाष्टिक झोला प्रयोग नगर्न आग्रह गर्दै नगरका विभिन्न भागमा चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?