रोजगारीको आधार पर्यटन र कृषिः उपप्रधानमन्त्री सिंह

दमौली : उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले कृषि र पर्यटनको विकासको लागि सरकारले प्राथमिकता दिएको बताएका छन् । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजना तथा दमौली बजार इकाईको सहआयोजनामा तनहुँको सदरमुकाम दमौलीमा बिहीबारबाट सुरु भएको नवौं तनहुँ कृषि पर्यटन तथा प्रविधि महोत्सवको उद्घाटन गर्दै मन्त्री सिंहले सो कुरा बताएका हुन् ।

नेपाल सुन्दर देश र सस्कृतिको धनी भएकोले पर्यटकलाई आकर्षित गरी रोजगारी सिर्जना गर्न सकिने हुँदा सबै मिलेर प्रवद्धन गर्नु पर्ने सुझाव उहाँले जानकारी दिए । कृषि र पर्यटकीय क्षेत्रको प्रवद्धन र विकासको लागि वर्तमान सरकार जुटिरहेको उल्लेख गर्दै उपप्रधानमन्त्री सिंहले नीजि यस्ता स्तरले समेत लगानी गर्न आवश्यक रहेको बताए । पर्यटन प्रवद्धन र विकासमा सङ्घ सरकारले लिएको नीतिलाई सफल बनाउन प्रदेश तथा स्थानीय सरकारको समेत महत्वपूर्ण भूमिका रहने उपप्रधानमन्त्री सिंहको भनाई थियो ।

देशका धेरै स्थानमा व्यवसायिकको नेतृत्वमा महोत्सव भईरहेको उल्लेख गर्दै सिंहले अर्थतन्त्र चलायमान गराउन मद्धत पुगेको बताउनुभयो । उपप्रधानमन्त्री सिंहले भने, ‘आर्थिक समृद्धिको लागि यस्ता खालका महोत्सवको ठुलो योगदान रहन्छ, समुदाय स्तरको आर्थिक अवस्था समेत सुदृढिकरण बनाउन योगदान दिन्छ ।’

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, महोत्सवका निर्देशक पविन्त्रकुमार श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य सङ्घका वरिष्ट उपाध्यक्ष इमकुमार मल्ल, महासचिव सुवोध अधिकारी, विभिन्न राजनीतिक दलता नेता लगायतले कृषि उपज र व्यापारिक सामग्री खरिद बिक्री एवम् सस्कृतिको संरक्षणको लागि महोत्सव फलदायी हुने हुँदा यस्ता महोत्सवलाई निरन्तरता दिनु पर्नेमा जोड दिएको थियो ।

कार्यक्रम तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक वैकुण्ठनाथ मिश्रको अध्यक्षतामा भएको थियो । दैनिक राष्ट्रियस्तरका कलाकारको उपस्थितमा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत हुने आयोजकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?