दमौली – तनहुँको व्यास नगरपालिका -१ विज्ञानचौर स्थित आदिकवि भानुभक्त क्याम्पस र सिटिजन बैंक इन्टरनेसनल लिमिटेड दमौली शाखाबीच व्यवस्थापन संकायमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै ‘आदिकवि सिटिजन अक्षय छात्रवृत्ति कोष’ स्थापनाको सम्झौता भएको छ।
मङ्गलबार क्याम्पसमा आयोजित एक विशेष समारोहका बीच उक्त सम्झौता सम्पन्न भएको हो। सम्झौतापत्रमा क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख महाप्रसाद हडखले र बैंकको तर्फबाट दमौली शाखा प्रबन्धक श्याम हरि तिवारीले हस्ताक्षर गरेका थिए।
सम्झौताअनुसार क्याम्पस र बैंकले समान रूपले ५१/५१ हजार रुपैयाँ गरी कुल १ लाख २ हजार रुपैयाँको अक्षय कोष स्थापना गर्ने भएका छन्। दुबै संस्थाले कोषलाई हरेक वर्ष थप गरी विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएको छ।
समारोहमा बोल्दै क्याम्पस प्रमुख हडखले ग्रामीण तथा पिछडिएको क्षेत्रका विद्यार्थीहरूका लागि यस्तो कोषले उच्च शिक्षामा पहुँच वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। शाखा प्रबन्धक तिवारीले भने, “शिक्षा क्षेत्रमा बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यो पहल भविष्यमा पनि निरन्तर हुनेछ।”
हाल आदिकवि भानुभक्त क्याम्पसमा व्यवस्थापन संकायअन्तर्गत बिबिएस र बिबिए कार्यक्रमहरू सञ्चालन भइरहेका छन्, जहाँ करिब १ हजारभन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन्। तीमध्ये ९० प्रतिशत विद्यार्थीहरू तनहुँ, लमजुङ र गोरखा जिल्लाका ग्रामीण भेगबाट आएका, सामाजिक र आर्थिक रूपमा विपन्न तथा पिछडिएको पृष्ठभूमिका रहेका छन्।
अक्षय छात्रवृत्ति कोषको उद्देश्य व्यवस्थापन विषयमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूलाई आर्थिक सहायता प्रदान गर्दै शैक्षिक गुणस्तर र पहुँचमा सुधार ल्याउनु रहेको क्याम्पस प्रशासनले जनाएको छ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?