नदी–खोलामा बालबालिकालाई जान नदिन तनहुँ प्रशासनको आग्रह

३० श्रावण तनहुँ — हाल देशभर मनसुनको सक्रियताका कारण मध्यमदेखि भारी वर्षा भइरहेको र आगामी दिनमा समेत तीव्र वर्षाको सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय तनहुँले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको छ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय तनहुँका प्रशासकीय अधिकृत विकास श्रेष्ठद्वारा हस्ताक्षरीत जनहितमा जारी सूचनामा साे कुरा उल्लेख गरिएकाे हाे ।

नेपाल जलप्रकोप पूर्वानुमान विभागका अनुसार सतर्क रहनुपर्ने अवस्थामा रहेका नदी, खोलानाला र खोल्सामा पानीको बहाव उच्च हुने, बाढीको खतरा बढ्ने, मानवीय क्षति तथा धन–मालको हानि हुन सक्ने सम्भावना रहेको प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले विशेषगरी व्यास, भानु, शुक्लागण्डकी, भिमाद,देवघाट लगायत जिल्लाभरका  नदी किनार तथा तटीय क्षेत्रमा खेलकुद, माछा मार्ने, नदी पार गर्ने, खोलामा डुबुल्की मार्ने, तस्बिर खिच्ने लगायतका गतिविधि नगर्न र बालबालिकालाई समेत नदी नजिक जान नदिने अनुरोध गरेको छ।

त्यस्तै, स्थानीय तहका सरोकारवाला निकायहरूलाई समेत जनसुरक्षाका लागि आवश्यक सूचनाप्रवाह र सतर्कता उपायहरू अपनाउन निर्देशन दिइएको छ। “सचेत रहौं, प्राकृतिक प्रकोप तथा दुर्घटनाबाट बचौं,” विज्ञप्तिमा भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?