जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक (एसपी) टेक बहादुर कार्कीले अपराध नियन्त्रणमा नागरिक र सञ्चारमाध्यमको ठुलो भूमिका रहने बताएका छन् ।
आईतबारदेखि तनहुँ प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका कार्कीले सोमबार जिल्लाका पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै जिल्लालाई शान्तिपूर्ण बनाउन प्रहरीसँगै राजनितीदल, नागरिक एवं सराेकारवालाको सक्रिय सहयोग आवश्यक रहेको बताए । अपराध रोकथामका लागि आवश्यक सूचना प्रहरीलाई उपलब्ध गराउन आग्रह गर्दै, “प्रहरी मात्रको प्रयासले मात्र पुग्दैन, सराेकारवालाकाे सहभागिता अनिवार्य हुन्छ,” उनले भने ।
एसपी कार्कीले तनहुँमा राजमार्ग विस्तारसँगै सवारी दुर्घटनाको जोखिम बढेको बताए । विद्यार्थीहरू साइबर अपराधतर्फ आकर्षित हुन थालेको तथ्य उल्लेख गर्दै यसलाई नियन्त्रण गर्न प्रहरी कानुन अनुसार कडाइका साथ काम गर्ने बताए । उनका अनुसार, गण्डकी प्रदेशमै बढी दुर्घटना हुने जिल्लामा तनहुँ पर्न गएको र यसलाई न्युनिकरण गर्ने रणनीति बनाउनुपर्ने आवश्यकता रहेको दाबी गरे ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?