दमौली— व्यास नगरपालिकाको नगर कार्यपालिकाको २३३औं बैठक नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकमा उप-प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू तथा कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको थियो।
बैठकपछि जारी गरिएको प्रेस विज्ञप्ति अनुसार विभिन्न नीतिगत तथा विकाससम्बन्धी महत्वपूर्ण निर्णयहरू गरिएको छ।
बैठकले अघिल्लो बैठकका निर्णयहरूको समीक्षा गर्दै नगरपालिकाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरेको छ। साथै, आगामी स्थापना दिवसलाई विविध कार्यक्रमका साथ भव्य रूपमा मनाउने तयारी अघि बढाइएको जानकारी दिइएको छ।
आर्थिक पक्षतर्फ, चालु आर्थिक वर्षको आय-व्ययको अवस्था, आन्तरिक आम्दानी तथा संघ, प्रदेश र अन्य स्रोतबाट प्राप्त हुने अनुदानबारे समीक्षा गरिएको छ। खर्च व्यवस्थापनलाई पारदर्शी र प्रभावकारी बनाउने तथा पूँजीगत खर्च वृद्धि गर्ने विषयमा विशेष जोड दिइएको छ।
गरिब तथा विपन्न परिवारको पहिचान र परिचयपत्र वितरण कार्यक्रमलाई प्रभावकारी बनाउन सम्बन्धित निकायहरूसँग सहकार्य गर्ने निर्णय गरिएको छ। यसका लागि वडा स्तरसम्म समन्वय संयन्त्र बनाइने उल्लेख गरिएको छ।
नगरपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गरी नागरिकलाई सेवा तथा कार्यक्रमबारे जानकारी गराउने र सुझाव संकलन गर्ने योजना पनि अघि सारेको छ।
यसैगरी, बाँकी रहेका जमिनको उपयोग, भूमि बैंक स्थापना सम्बन्धी प्रक्रिया, तथा विभिन्न कार्यविधि संशोधनका विषयमा पनि निर्णय गरिएको छ।
नगरको समग्र विकास, सुशासन प्रवर्द्धन र सेवा प्रवाह सुधारका लागि नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतबीच कार्यसम्पादन सम्झौता समेत सम्पन्न भएको जनाइएको छ।
नगरपालिकाले आगामी दिनमा विकास निर्माण कार्यलाई तीव्रता दिने, नागरिकमैत्री सेवा प्रदान गर्ने र पारदर्शिता कायम राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।















यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?