निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु लोकतन्त्रका लागि ऐतिहासिक उपलब्धि- प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ सम्पन्न भएको अवसरमा आयोजित जलपान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु लोकतन्त्रका लागि ऐतिहासिक उपलब्धि भएको बताएकी छन् ।

कार्यक्रममा उनले निर्वाचन आयोगको नेतृत्व र समग्र टोलीलाई धन्यवाद दिँदै चुनौतीपूर्ण परिस्थितिमा पनि तोकिएकै समयमा स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुनु महत्वपूर्ण उपलब्धि भएको बताएकी थिइन् ।

प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गतेपछि देश जटिल अवस्थाबाट गुज्रिरहेको स्मरण गर्दै त्यही अवस्थाबीच निर्वाचन सम्पन्न गर्नु सजिलो नभएको बताउदै सुरक्षा अवस्था संवेदनशील रहेको, राजनीतिक संवाद कमजोर भएको र कानुनी अन्योल रहेको अवस्थामा सरकारले ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता पूरा गरेको उनले उल्लेख गरेकी थिइन् ।

उनका अनुसार यस निर्वाचनले लोकतान्त्रिक मूल्य-मान्यता सुदृढ गर्नुका साथै स्थिर सरकार, सुशासन र समृद्धिको पक्षमा जनताले स्पष्ट सन्देश दिएका छन् ।

निर्वाचन प्रक्रियामा नयाँ अभ्यासहरू अपनाइएको उल्लेख गर्दै उनले मतदाता नामावलीमा थप अवसर दिइएको, राष्ट्रिय परिचयपत्रसँग प्रणाली जोडिएको, सामग्री पुनः प्रयोग गरिएको र सकेसम्म स्वदेशी सामग्री प्रयोग गरिएको जानकारी दिइन्। यसले मितव्ययिता र पारदर्शितामा पनि नयाँ उदाहरण स्थापित गरेको उनको भनाइ छ ।

प्रधानमन्त्री कार्कीले निर्वाचन खर्च पारदर्शी बनाउन अलग बैंक खाता सञ्चालन, सामाजिक सञ्जालको निगरानी र आचारसंहिता कार्यान्वयनमा कडाइ गरिएको पनि बतादै बलियो सुरक्षा व्यवस्थाका कारण पुनः मतदान गर्नुपर्ने अवस्था नआएको र विवाद न्यून रहेको उल्लेख गरिन् ।

यस सफलताको श्रेय निर्वाचन आयोग र सुरक्षा निकायलाई दिँदै उनले आगामी दिनमा पनि यही स्तर कायम राख्न सके लोकतन्त्र अझ सुदृढ हुने विश्वास व्यक्त गरिन्।

कार्यक्रममा उनले नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई दिँदै सम्पूर्ण सरोकारवालालाई धन्यवाद प्रकट गरिन्। साथै, लोकतन्त्र सुदृढीकरण, सुशासन प्रवर्द्धन र समृद्ध नेपालको निर्माणमा सबैको सहकार्य रहने विश्वास व्यक्त गरिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?