दमौली, १६ चैत । नेपाल पत्रकार महासङ्घको ७१ औं स्थापना दिवसका अवसरमा तनहुँमा छ पत्रकार पुरस्कृत भएका छन् ।
नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले आज दमौलीमा आयोजना गरेको कार्यक्रममा छ पत्रकार पुरस्कृत भएका हुन् ।
शाखामा स्थापित विभिन्न पत्रकारिता पुरस्कारबाट छ जना क्रियाशील पत्रकारलाई पुरस्कृत गरिएको हो ।
रणबहादुर गुरुङद्वारा स्थापित सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कारबाट शाखाका निवर्तमान अध्यक्ष उज्वल पौडेल, भाग्यशालाी ढुङ्गानाद्वारा स्थापित टीकानीधि ढुङ्गाना स्मृति व्यास पराशर पत्रकारिता पुरस्कारबाट शाखाका पूर्व अध्यक्ष ओमकार आचार्य, मुक्तिनाथ खनालद्वारा स्थापित भवानी खनाल स्मृति पत्रकारिता पुरस्कारबाट शाखाका सल्लाहकार नारायण खड्का, प्रदीप काफ्लेद्वारा स्थापित पुरुषोत्तम काफ्ले स्मृति पत्रकारिता पुरस्कारबाट शाखाका पूर्व कार्यसमिति सदस्य श्रीहरि पौडेललाई पुरस्कृत गरिएको छ ।
उत्तम र सुमन भट्टराईद्वारा स्थापित हरिभक्त भट्टराई स्मृति पत्रकारिता पुरस्कारबाट सङ्घीय परिषद् सदस्य राजकुमार श्रेष्ठ विवि, वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेद्वारा स्थापित चिरञ्जिवी हरिमाया स्मृति पत्रकारिता पुरस्कारबाट पूर्व सहसचिव मिला दरैलाई प्रदान गरिएको छ ।
महासङ्घले न्याय, सहकारी, धार्मिक, सांस्कृतिक तथा पर्यटनलगायतका क्षेत्रमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्दै आएको छ । सुरज गुरुङ पत्रकारिता पुरस्कारको राशी रु पाँच हजार रहेको छ भने अन्य पुरस्कारको राशी जनही रु दश हजार रहेको छ ।
शाखाका अध्यक्ष डिपी अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शाखाका निवर्तमान अध्यक्ष उज्वल पौडेल, पूर्व अध्यक्षहरु प्रकाशचन्द्र भट्टराई, डम्बरबहादुर अधिकारी, ओमकार आचार्य, सम्मानित एवं शाखाका सल्लाहकार नारायण खड्का लगायतले पत्रकारिता क्षेत्रको चुनौतिका बारेमा धारणा राखे ।














यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?