तनहुँ, असार ९ — पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्डमा मंगलबार साँझ भएको सवारी दुर्घटनापछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको पावर हाउस नजिक साँझ करिब ५:४५ बजे ट्रक र पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर एकापसमा ठोक्किँदा राजमार्ग दुवैतर्फ अवरुद्ध भएको हो। व्यस्त सडकखण्डमै दुर्घटना भएकाले सवारी आवागमन पूर्ण रूपमा प्रभावित बनेको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार आँबुखैरेनीबाट मुग्लिनतर्फ जाँदै गरेको ना ५ ख ७७७५ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको नेपाल आयल निगमको पेट्रोलियम पदार्थ बोकेको मधेश प्रदेश ०३–००१ क नम्बरको ट्याङ्कर ठोक्किएका हुन्।
दुर्घटनामा दुवै सवारीसाधनका चालक घाइते भएका छन्। घाइतेहरूको नाम र विस्तृत विवरण तत्काल प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ। उनीहरूलाई उपचारका लागि नजिकैको अस्पताल पठाइएको छ।
दुर्घटनापछि सडकमा सवारीसाधनको लामो जाम लागेको छ। अवरुद्ध सडक खुलाउने तथा दुर्घटनाग्रस्त सवारी हटाउने कार्य जारी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।















यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?