फिफा विश्वकप फुटबलको नकआउट चरणमा भोलि बिहान पौने ५ बजे पोर्चुगल र क्रोएशिया खेल्दैछन् । यो खेल क्यानडाको टोरन्टो रङ्गशालामा हुनेछ ।
पोर्चुगल समूह ‘के’ को उपविजेता र क्रोएशिया समूह ‘एल’ को उपविजेताका रूपमा नकआउटमा पुगेका हुन् । पोर्चुगल र क्रोएशियाबीच विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो ।
पोर्चुगल र क्रोएसियाबीचको यो खेल प्रि–क्वाटरफाइनलमा पुग्ने मात्र नभई दुई लिजेन्डका लागि विरासत जोगाउने महत्त्वपूर्ण भेट पनि हुनेछ । लामो अन्तर्राष्ट्रिय करियरमा पाेर्चुगलका क्रिस्टियानाे रोनाल्डो र क्राेएशियाका मोड्रिचले स्पेनी क्लब रियल मड्रिडमा सँगै बिताएका थिए । विश्वकपको दुई दशक लामो इतिहासमा रोनाल्डो र मोड्रिचको यो नै पहिलो र अन्तिम भेट हुनेछ ।
यी दुई टोलीबीच अहिलेसम्म १० पटक प्रतिस्पर्धा भएको छ । यसमा पोर्चुगल ७ र क्रोएशिया १ खेलमा विजयी भएको छ भने २ खेल बराबरीमा सकिएको छ ।
त्यसअघि विश्वकप फुटबलको नकआउटमा आज राति स्पेन र अस्ट्रिया खेल्दैछन् । यो खेल राति पौने १ बजे अमेरिकाको लस एन्जलस रङ्गशालामा शुरू हुनेछ ।
स्पेन समूह ‘एच’ को विजेता र अस्ट्रिया समूह ‘जे’ को उपविजेताका रूपमा नकआउटमा पुगेका हुन् ।
सन् २०१० को विजेता स्पेन र अस्ट्रियाबीच विश्वकपमा दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो । सन् १९७८ को विश्वकपमा अस्ट्रियाले स्पेनलाई २–१ ले हराएको थियो ।
यस्तै यी दुई टोलीबीच अन्तर्राष्ट्रिय फुटबलमा १६ पटक प्रतिस्पर्धा भएको छ । यसमा स्पेन ९ र अस्ट्रियाले ४ खेल जितेको छ भने ३ खेल बराबरीमा सकिएको छ ।
विश्वकप फुटबलको नकआउटमा भोलि बिहान पौने ९ बजे स्विट्जरल्यान्ड र अल्जेरिया खेल्दैछन् । स्विट्जरल्यान्ड समूह ‘बी’ को विजेता र अल्जेरिया समूह ‘जे’ बाट तेस्रो स्थानमा रहने उत्कृष्ट टोली बनेर नकआउटमा पुगेका हुन् ।
स्विट्जरल्यान्ड र अल्जेरियाबीच विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो ।
यस्तै यी दुई टोलीबीच अहिलेसम्म २ पटक प्रतिस्पर्धा भएको छ । यसमा दुइटै खेल स्विट्जरल्यान्डले जितेको छ ।
अहिलेसम्म १० वटा टोली प्रिक्वाटरफाइनलमा पुगेका छन् । क्यानडा र मोरक्को, पाराग्वे र फ्रान्स, अमेरिका र बेल्जियम, ब्राजिल र नर्वे, मेक्सिको र इङ्ग्ल्यान्डले एकअर्कासँग खेल्ने पक्का भएको छ ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?