दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँले तिहारलाई लक्षित गरी सञ्चालन गरेको सुरक्षा अभियानका क्रममा ध्वनि प्रदूषण गर्ने पाँचवटा मोडिफाइ गरिएका बुलेट मोटरसाइकल नियन्त्रणमा लिएको छ। प्रहरीले जुवातास खेल्न तथा खेलाउन प्रयोग हुने विभिन्न सामग्रीसमेत बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार अत्यधिक ध्वनि प्रदूषण गर्ने ती मोटरसाइकलले सार्वजनिक शान्ति सुरक्षामा असर पारेको पाइएपछि आवश्यक कानुनी कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाइएको हो।
त्यसैगरी, जुवातासजन्य गतिविधि नियन्त्रण गर्ने क्रममा प्रहरीले लङ्गुरबुर्जा खेलका साना तथा ठूला गरी २३८ वटा गोटी, ३३ वटा त्रिपाल तथा चार्ट, ३८ वटा बाल्टिन, तीनवटा पासा गोटी र तीनवटा तिनगोटी डाइस बरामद गरेको छ।
तिहारका समयमा हुन सक्ने गैरकानुनी तथा अवाञ्छित गतिविधि नियन्त्रण गर्ने उद्देश्यले जिल्लामा सुरक्षा निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। प्रहरीले चाडपर्व अवधिभर यस्ता गतिविधिमाथि निगरानी तथा नियन्त्रण अभियानलाई निरन्तरता दिने जनाएको छ।










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?