तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४, बेनिटारबाट ६०० एम्पुल प्रतिबन्धित लागूऔषधसहित एक जना पुरुष पक्राउ परेका छन्।
नारायणगढबाट पोखरातर्फ जाँदै गरेको माइक्रोबसमा सवार पोखरा महानगरपालिका–२३ का तथा हाल घाँटीछिनामा बसोबास गर्दै आएका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको हो।
अस्थायी प्रहरी पोस्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरी टोलीले नियमित सवारी जाँच गर्ने क्रममा लुकाइछिपाइ ल्याइएको अवस्थामा लागूऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिको साथबाट फेनारगान २०० एम्पुल, डाइजेपाम २०० एम्पुल र नोफिन २०० एम्पुल गरी जम्मा ६०० एम्पुल लागूऔषध बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले पक्राउ परेका व्यक्तिमाथि तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जानकारी दिए ।










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?