नेपालमै विकास गरिएको विपद्‌सम्बन्धी आपत्कालीन अलर्ट प्रणालीको आज परीक्षण हुँदै

विपद्का समयमा सर्वसाधारणलाई तत्काल सूचना प्रवाह गर्ने उद्देश्यले नेपालमै विकास गरिएको ‘सेल ब्रोडकास्ट सिस्टम’ को आज (सोमबार) परीक्षण गरिने भएको छ। काठमाडौंको बलम्बुस्थित नेपाल टेलिकमको टावर आसपासका क्षेत्रमा रहेका सीमित मोबाइल फोनमा साँझ ५:३० बजे परीक्षण अलर्ट पठाउन लागिएको हो।

गृह मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार परीक्षणका क्रममा मोबाइलमा ‘यो परीक्षण सन्देश हो’ भन्ने सन्देश प्राप्त हुन सक्नेछ। साथै मोबाइलमा अलर्टको आवाजसमेत बज्न सक्छ। एउटै सन्देश एकभन्दा बढी पटक प्राप्त हुन सक्ने भएकाले यस्तो अलर्ट आएमा नआत्तिन र कुनै प्रतिक्रिया नदिन मन्त्रालयले आग्रह गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका इन्जिनियर सुनिल यादवका अनुसार नेपाल टेलिकमको बलम्बुस्थित टावरमार्फत पहिलो चरणमा टुजी नेटवर्कमा प्रणालीको परीक्षण गर्न लागिएको हो। परीक्षणका क्रममा उक्त क्षेत्र आसपास रहेका सीमित मोबाइल फोनमा अलर्ट पठाएर प्रणालीको प्रभावकारिता जाँच गरिनेछ।

“यो पहिलो परीक्षण हो। प्रणालीमार्फत पठाइएको सन्देश कति मोबाइलमा पुग्छ भनेर हेरिनेछ,” यादवले टेकपानासँग भने।

सेल ब्रोडकास्ट प्रणाली सामान्य एसएमएस सेवाभन्दा फरक प्रविधिमा आधारित छ। एसएमएसमार्फत मोबाइल नम्बरका आधारमा व्यक्तिगत रूपमा सन्देश पठाइन्छ भने सेल ब्रोडकास्ट प्रविधिबाट निश्चित भौगोलिक क्षेत्रभित्र रहेका सबै मोबाइल फोनमा एकैपटक सूचना प्रसारण गर्न सकिन्छ। यसले विपद् प्रभावित क्षेत्रका नागरिकलाई छोटो समयमा सचेत गराउन सहयोग पुर्‍याउनेछ।

यादवका अनुसार टेलिकम वा एनसेलको नियमित मोबाइल नेटवर्कमा एसएमएस सेवा प्रभावकारी रूपमा सञ्चालन हुन नसक्ने अवस्थामा समेत आपत्कालीन सूचना प्रवाह गर्न सकियोस् भन्ने उद्देश्यले यो प्रणाली विकास गरिएको हो। यद्यपि, मोबाइल फोनले सम्बन्धित सेलसँग सम्पर्क स्थापित गर्न नजिकैको टावरको पहुँचमा रहनुपर्नेछ।

गृह मन्त्रालयका विपद् विज्ञ प्रदीप खतिवडाका अनुसार यो प्रणाली पूर्ण रूपमा नेपालमै विकास भइरहेको हो। गृहमन्त्री सुधन गुरुङ र सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाको उपस्थितिमा परीक्षण गरिने कार्यक्रम छ।

यसअघि आन्तरिक रूपमा गरिएको परीक्षण सफल भएपछि पहिलोपटक सीमित भौगोलिक क्षेत्रलाई आधार बनाएर सर्वसाधारणमाझ परीक्षण गर्न लागिएको हो। आगामी दिनमा थप ठूलो क्षेत्रफलमा परीक्षण विस्तार गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत प्रणालीलाई प्रयोगमा ल्याउने तयारी रहेको खतिवडाले बताए।

यो प्रणाली पूर्ण रूपमा सञ्चालनमा आएपछि भूकम्प, बाढी, पहिरोलगायत प्राकृतिक विपद्का सम्भावित जोखिमबारे प्रभावित क्षेत्रका नागरिकलाई तत्काल पूर्वसूचना तथा सतर्कता सन्देश पठाउन सकिने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?