नेपाल प्रिमियर लिगमा पहिलो पटक डीआरएस प्रविधि प्रयोग हुने

नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक ‘डिसिजन रिभ्यु सिस्टम’ (डीआरएस) प्रविधि प्रयोग हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको सिद्धार्थ बैंक एनपीएलको तेस्रो संस्करणमा यसको औपचारिक घोषणा गरिएको हो ।

नेपाली घरेलु क्रिकेटको इतिहासमा डीआरएस प्रणाली प्रयोग हुन लागेको यो पहिलो पटक हो । दशैंको अवसर पारेर लिगको आधिकारिक पेजबाट सार्वजनिक गरिएको भिडिओ सन्देशमा भनिएको छ, “हाम्रा राइनो फ्यान्सहरूलाई बडा दशैंको शुभकामना !! सिद्धार्थ बैंकले नेपाल प्रिमियर लिगमा पहिलो पटक डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रस्तुत गर्दैछ, जसले नेपाली क्रिकेटमा एउटा नयाँ माइलस्टोन खडा गरेको छ । जहाँ हिमालको उत्सवले नवप्रवर्तन, प्रविधि र खेलको भविष्यसँग साक्षात्कार गर्दछ ।”

आगामी २६ अक्टोबरदेखि सुरु भई २१ नोभेम्बरसम्म सञ्चालन हुने यस सिजनमा यो प्रविधि पूर्ण रूपमा लागु हुनेछ । यसअघि पनि क्यानले डीआरएस प्रणालीको परीक्षण भइरहेको जनाउँदै यस सिजनमा यसको प्रयोग गर्ने स्पष्ट सङ्केत दिँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?