
दमौली : तनहुँको व्यास नगरपालिकाले दमौली बजारबाट उठाएको फोहोर व्यवस्थापनमा बेवास्ता गरेको पाइएको छ । फोहोरको उचित व्यवस्थापन नभएको भन्दै बुद्धसिंमार्ग भएर यात्रा गर्ने यात्रुहरुले गुनासो पोक्दै आएका छन्।
सडकको छेउमा फोहोर फाल्दा दुर्गन्ध भएर आवतजावत गर्न समस्या भएको भन्दै फोहोरमैला व्यवस्थापनमा नगरपालिकाले बेवास्ता गरेको उनीहरूको गुनासो छ । व्यास नगरपालिकाले वडा नं. १३ स्थित भोर्ले पहारोमा बिगत २ बर्ष देखि नकुहिने फोहोर फाल्दै आएको छ । सोही ठाउँमा व्यवस्थापन गरेको ल्याण्डफिल्ड साइट पनि अब २ महिनाको लागि मात्र हुने त्यहाँ फोहोर व्यवस्थापन गर्ने एक कर्मामचारीले बताएको छ । नगर क्षेत्रबाट उठाएको फोहोरलाई सेतिमादीको किनारमै फाल्दा नदि समेत प्रदूषण भएको देखिन्छ ।
सडक छेउमै फोहोरको डंगुर थुप्रिँदा व्यास – १३,व्यास -१४, ऋषिङ गाउँपालिका र देवघाट गाउँपालिकाबाट आवतजावत गर्ने यात्रु प्रभावित बनेको छ । सडक छेउछाउमा फोहोरको थुप्रो लागेको र त्यसबाट फैलिएको दुर्गन्धले हिँड्नसमेत समस्या भइरहेको छ ।
नगरपालिकाले सडक छेउछाउमा जताततै फालिएको फोहोरलाई तत्काल व्यवस्थापन गरी दीर्घकालीन समाधानतर्फ लाग्न स्थानीयहरुले माग गरेका छन् । नदी किनारमै फोहोर फाल्न थालेपछि नगरपालिकालाई पटक–पटक खबरदारी गरे पनि सुनुवाइ नभएको व्यास-१३ का स्थानीयहरुले बताएका छन ।
जग्गा प्राप्तिको प्रक्रिया र आईए, डीपीआरलगायतका काममा ढिलाइ हुँदा समयमै अर्को डम्पिङ्ग साइड व्यवस्थापन गर्न नसकेको नगरपालिकाले जनाएको छ । अहिले जग्गाको खोजिको काम गरिरहेको नगरपालिकाका वन तथा वातावरण शाखाका प्रमुख कृष्णराज घिमिरेले बताए ।
नगरले जारी गरेको फोहोरमैला व्यवस्थापन निर्देशिका समेत पूर्णरूपमा कार्यान्वयन भएको छैन । बढ्दो जनसंख्याको चापले व्यासनगरमा फोहोर मैला व्यवस्थापन चुनौति बन्दै गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?