तनहुँमा निषेधाज्ञा थप खुकुलाे, सार्वजनिक यातायात चल्ने,पसलहरु ३ बजेसम्म खुल्ने

तनहुँ जिल्लामा सार्वजनिक यातायात जोर-विजोर प्रणालीमा चल्न पाउने गरी असार ३१ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी)को बुधबार बसेको बैठकले शुक्रबारदेखि जोर विजोर प्रणालीमा जिल्ला भित्र संचालन हुने सार्वजनिक सवारीहरु मध्य पृथ्वी राजमार्गमा  बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सिट सङ्ख्या भन्दा थोरै यात्रु राखी सवारी साधन सञ्चालनको अनुमति दिइएको हो ।ती सवारी साधनमा स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने छ।

बैठकले अत्यावश्यक सेवा विहान ५ बजे देखि ११ बजेसम्म र संचालन गर्न दिएका अन्य पसलहरु विहान ९ देखि दिउँसो ३ बजेसम्म खोल्न पाउने निर्णय भएको छ ।होटल तथा रेष्टुरेन्टलाई तयारी खाना तथा खाजा प्याकिङ गरि विक्री गर्न मात्र अनुमति दिइएको छ ।

सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, सैलुन, ब्युटी पार्लर, मनोरञ्जनस्थल, फुटसल, जिमखाना, चिडियाखाना लगायत भिडभाड हुने ठाउँमा प्रतिबन्ध लगाइएको छ । यस्तै खुला ठाउँमा भोजभतेर वा सभा, समारोह गर्न, मन्दिरमा नित्य पूजाबाहेक सांस्कृतिक गतिविधि गर्न, भौतिक उपस्थितिमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न पनि रोक लगाइएको छ ।

जिल्लामा पछिल्लो समय केही खुकुलो बनाएर जारी गरिएको निषेधाज्ञा भाेलि राति १२ बजेदेखि सकिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?