दमौली : नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललेले तनहुँ क्षेत्र -१ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् ।
तनहुँको समग्र विकासका लागि आफूले उम्मेदवारी दर्ता गराएको उनको भनाइ छ। यसपटक पनि तनहुँका जनताले आफूलाई निर्वाचित गराउने विश्वास उनको छ। ‘तनहुँको समग्र विकासका लागि मेरो उम्मेदवारी हो।
पौडेलले निर्वाचित हुने विश्वास प्रकट गरे पनि अंक गणितले भने उनलाई कठिन हुने देखिन्छ।
२०७४ मा वाम गठबन्धनबाट एमालेका उम्मेदवार किसान श्रेष्ठसँग पराजित भएका पौडेल अहिले पाँच दलीय गठबन्धनका साथ चुनावी मैदानमा जाने तयारीमा छन् । उनी ०७४ मा श्रेष्ठसँग ६ हजार ४१४ मतान्तरले पराजित भएका थिए । श्रेष्ठले ३४ हजार ४ सय ८९ मत ल्याउँदा पौडेलले २७ हजार ६७५ मत मात्र पाएका थिए ।
तर आधा दर्जन पटक सांसद बन्ने धोको पौडेलको छ । पौडेल ०४८ को निर्वाचनमा तनहुँ १ र ५१ सालको मध्यावधि चुनावमा तनहुँ २ बाट सांसद निर्वाचित भए । त्यसपछि उनले ०७४ सम्म तनहुँ २ बाट लगातार चुनाव जित्दै आएका थिए । उनी ०५६ सालमा तनहुँ २ बाट संसद सदस्यमा तेस्रो पटक निर्वाचित भए ।
०६४ मा भएको पहिलो संविधानसभा चुनावमा तनहुँ २ बाट चौथो पटक निर्वाचित भए । ०७० मा सम्पन्न संविधान सभाको दोस्रो निर्वाचनमा तनहुँ २ बाट पाचौं पटक निर्वाचित भएका थियो।
आफ्नै पार्टी परित्याग तनहुँका पूर्व सचिव विश्व बॉस्तोलाले पौडेलकै क्षेत्रमा उम्मेदवारी दर्ता गरेका छन् । उनले स्थानीय तह निर्वाचनका बेला पार्टी परित्याग गरेका थिए ।
उनलाई बॉस्तोलाको उम्मेदवारीले केहि मत परिमाण भए पनि असर पर्ने देखिएको छ ।
यता पौडेलविरुद्ध कांग्रेसबाट निष्कासित पुर्व गृहमन्त्री गोविन्दराज जोशी पनि तनहुँ -१ बाट नै उम्मेदवारी दर्ता गरेका छन् । यद्यपि भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका जोशी ०७४ मा पनि उम्मेदवार बन्न चाहेका थिए तर उनको उम्मेदवारी खारेज भएको थियो ।
जोशीले पौडेललाई पराजित गर्नु नै लक्ष्य बनाएका कारण अरु उम्मेदवारलाई नसघाउलान् भन्न सकिँदैन । स्थानीय तह निर्वाचनमा पनि एमाले र जोशी समूहबीच तालमेल भएको थियो ।
केन्द्रीय सदस्य गोविन्द भट्टराईले पौडेलविरुद्ध बागी उठ्ने घोषणा गरे पनि अन्तिम समयमा ब्याक भएका छन् । समानुपातिकको बन्द सूचीको अन्तिमतिर आफ्नो नाम राखिएपछि फिर्ता लिएका छन्।
एमालेका केन्द्रीय सल्लाहकार सदस्य एकबहादुर राना तनहुँ -१ बाट नै उम्मेदवारी दर्ता गरेका छन् ।
तनहुँ -१ मा राप्रपाबाट विनोद कुमार घर्ती, राप्रपा नेपालका कृष्ण प्रसाद पौडेल,नेत्रलिष्ट पिपल्स पार्टीका ताज महमद मिया,हाम्रो नेपाली पार्टीका प्रविन पौडेल,मंगोल नेशनल अर्गनाइजेशनबाट प्रेमबहादुर थापा,नेपाल मजदुर किसान पार्टीबाट रामकृष्ण त्वायना,राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास सिग्देल र राष्ट्रिय मुक्ति पार्टीबाट हस्तबहादुर किचिम थापाले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी स्वतन्त्रबाट गोविन्दराज जोशी, बिश्वनाथ बास्तोला, पृथ्वीनारायण श्रेष्ठ, बेलबहादुर दरै र रामचन्द्र कार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।
माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा चुनावी तालमेल गरी अगाडि बढ्दै छन् । स्थानीय निर्वाचनको मतको हिसाब–किताब गर्दा तनहुँ–१ मा सत्तारुढ गठबन्धनको पल्ला भारी छ ।
यो पनि पढ्नुहोस् : रामचन्द्र पौडेलको ‘अन्तिम चुनाव’ , तनहुँ–१ मा कम छैन चुनौती
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?