‘निर्वाचनमा हामी निर्णायक शक्ति’ ; पिएल श्रेष्ठ

भिमाद  :  नेकपा एकिकृत समाजवादी पार्टीका पोलिटब्यूरो सदस्य प्रतापलाल श्रेष्ठ(पिएल)ले आगामी मंसिर ४ मा हुने प्रतिनिधी र प्रदेश सभाको निर्वाचनमा आफ्नो पार्टी तनहुँमा निर्णायक बन्ने दावि गरेका छन् ।

तनहुँ क्षेत्र २ अन्तर्गत प्रदेश सभा ‘ख’मा उम्मेदवार समेत रहेका श्रेष्ठले नेकपा एसले गठबन्धनमा समर्थन गर्दा वा विद्रोह गर्दा परिणाम अनपेक्षित आउने बताए ।

‘हामी जिल्लामा निर्णायक शक्ति हौँ’ उनले भने ‘हामीलाई सम्मान जनक ब्यवहार गर्ने जोसँग पनि मिलेर वा एक्लै चुनावमा सहभागि हुने स्थिती बन्छ ।’ गठबन्धनमा सम्मानजनक ब्यवहार नभएको भन्दै आक्रोशित देखिएका श्रेष्ठले भिमादमा निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन गर्दै चुनावसम्म तनहुँको माहोल परिवर्तन हुनसक्ने जानकारी दिए ।

नेता कार्यकर्तालाई प्रतिनिधीसभाको उम्मेदवार मध्ये कस्लाई मत दिने भन्ने विषय छलफलमै रहेको बताउदै एमालेसँगको चुनावी एकता हुने सम्भावनाको समेत संकेत गरे ।

कार्यक्रममा नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रिय परिषद् सदस्य तथा प्रदेश सभाका समानुपातिक उम्मेदवार भक्त रसाईलीले आफुहरु पार्टीको आधिकारिक उम्मेदवार भएको र गठबन्धनको विद्रोही शक्ति भएको बताए ।

विद्रोह शक्ति भएको र सचेतहरुले मात्र गर्न सक्ने दावि गर्दै रसाईलीले निर्वाचन पछि जिल्लामा नेकपा एसको शक्ति देखिने दावि गरे ।
नेकपा एस तनहुँका अध्यक्ष श्रीराम कार्कीले गठबन्धनका शिर्ष नेताको हेपाहापूर्ण ब्यवहारको प्रतिवाद चुनावबाट गर्नुपर्ने भन्दै नेकपा एसको पक्षमा माहोल बन्ने गरि लाग्न नेता कार्यकर्ताहरुलाई आग्रह गरे ।

भिमाद नगर कमिटीका अध्यक्ष काजिमान श्रेष्ठका अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश तथा जिल्ला स्तरका नेता कार्यकर्ताहरुले गठबन्धनले गरेको ब्यवहारको चर्काे विरोध गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?