चितवनको इच्छाकामना–६ स्थित जलबिरे, नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत मुग्लिनबाट सात किलोमिटर नारायणगढतर्फ जलबिरेबाट आधा घन्टा हिँडेर वा सवारीसाधनबाटै पनि सजिलै पुग्न सकिने झरना हो जलबिरे झरना । भिर, पहरा, छाँगा र छहराको संयोग, प्राकृतिक छटाले भरिपूर्ण जलविरे झरना (लामो झरना) चितवनकै उत्कृष्ट ४० पर्यटकीय गन्तव्य मध्ये एक हो । अन्तरिक होस् या बाह्य तस्वीर देख्नेबित्तिकै लोभिने पर्यटक, यहाँ पुग्दा छुट्टै आनन्द महसुस गर्छन् ।
यहाँ विसं २०६९ देखि पर्यटन विकास सुरू भएको हो । चितवनमा पहिचान भएका पर्यटकीय गन्तव्य स्थलमध्ये लामो झरना पनि उत्कृष्ट गन्तव्यभित्र पर्छ । ६० मिटरभन्दा लामो झरनाले जुनसुकै समयमा पुग्ने पर्यटकको मन लोभ्याउने गरेको छ । सुन्दर प्राकृतिक मनोरम दृश्य तथा लामो छाँगोबाट झरेको पानीको फोहरा र त्यसबाट आउने शीतल पानीका कण र चिसो हावाको स्पर्शले पर्यटकको मन लोभ्याइदिन्छ ।
पूर्वाधारबिनै पर्यटकको चहलपहल बढेको जलविरे झरना आकर्षक पर्यटकीय गन्तव्य बन्दै गएको छ । पछिल्लो केही वर्षको प्रयासमा शौचालय, चेन्जिङ रुम, पौडी पोखरी, पार्क र सिँढी निर्माणले आकर्षण थपे पनि अझै पूर्वाधार निर्माण र उचित प्रचार हुन सकिरहेको छैन ।
यहाँ रक क्लाइम्बिङ’ गर्नेहरुको लागि व्यवस्था गरिएको छ । एसेट इन्टिग्रिटी ग्रुपको १० जनाको टोलीले चट्टान आरोहणको सफल परिक्षण गरिसकेकोले पनि रक क्लाइम्बिङ गर्ने गरेको स्थानीय बताउछन् ।
यहाँ प्रवेश गर्न स्वदेशी पर्यटकलाई रु ५० र विदेशीका लागि रु १०० शुल्क लिने गरिएको छ भने क्यानोनिङका लागि स्वदेशीलाई रु १०० र विदेशीलाई प्रतिव्यक्ति रु ५०० लिने गरिएको छ ।
प्रकृतिको सुन्दर उपमा जलबिरे झरना मुग्लिन र चितवनको बिचमा पर्ने भएकाले स्थानीयहरु चर्का गर्मी,कोलाहल, तनाव र थकान मेट्न यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्छ । साथै काठमाडौ, पोखरा र सौराहा आउने बाह्य पर्यटकका लागि बसाइँ लम्ब्याउन महत्वपूर्ण गन्तव्य हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?