काठमाडौं : निर्वाचन आयोगले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई निर्वाचन प्रभावित पार्नेसम्बन्धी कसुरमा कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ ।
रौतहट क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपालले आइतबार एक चुनावी कार्यक्रममा आफूले चुनाव जिते फ्रि भिसा फ्रि टिकटमा वैदेशिक रोजगारीमा पठाउने आश्वासन दिएका थिए ।
निर्वाचन कसुर तथा सजायसम्बन्धी ऐन–२०७३ को दफा २० (१) (च) मा कुनै उम्मेदवार वा प्रतिनिधिले कुनै लोभलालच वा आर्थिक प्रलोभन देखाउन नपाउने व्यवस्था छ ।
यसो गरेमा एक लाखसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुबै सजाय हुने ऐनमा व्यवस्था छ । यसको आवश्यक अनुसन्धान र कारबाही प्रक्रिया नेपाल प्रहरीले गर्ने भएकाले आयोगले जिल्ला प्रहरी कार्यालय, रौतहटलाई पत्र लेखेको छ ।
आयोगले निर्वाचन आचार संहिताको उल्लंघनमा किन कारवाही नगर्ने भनी नेपाललाई स्पष्टीकरण पनि सोधेको छ । उनले पत्र पाएको २४ घण्टाभित्र निर्वाचन आयोगमा वा सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा लिखित स्पष्टीकरण पेश गर्नुपर्नेछ ।
आयोगले उम्मेदवारको साटो प्रतिनिधि गएर स्पष्टीकरण बुझाए पनि हुने सुविधा दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?