भंगाहा घटनाबारे छानबिन गर्न गृह मन्त्रालयद्वारा समिति गठन

काठमाडौं : गृह मन्त्रालयले महोत्तरीको भंगाह नगरपालिकामा भएको घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ। शुक्रबार मन्त्रालयका सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो ।

समितिमा प्रहरीका प्रहरी नायव महानिरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरी नायव महानिरीक्षक किशोर प्रधान, राष्ट्रिय अनुसन्धान विभागका सह–अनुसन्धान निर्देशक विष्णुमणि आचार्य र गृह मन्त्रालयका उपसचिव विश्वराज मरासेनी सदस्य छन्। सो समितिलाई छानविनका लागि एक हप्ताको समय दिइएको छ ।

बिहीवार भंगाहा–८ पररिया टोलमा हिन्दु बाहिनी सेना सम्राटबाट छठ पर्वको अवसरमा निकालिएको कलश तथा झण्डा यात्राको क्रममा हिन्दु र मुस्लिम समुदायबीच झडप भएको थियो ।

कलश यात्रामा सहभागीहरूले मुस्लिमको झण्डा राखेको ठाउँमा आफूहरूको झण्डा राख्ने तयारी गर्दागर्दै मुस्लिम महिलाले ढुंगा प्रहार गरेपछि झगडाको सुरुवात भएकाे बताइएको छ ।

मुस्लिमहरूले बाक्लै ढुंगा प्रहार गर्न थालेपछि शोभा यात्रामा सहभागीले प्रतिकार गर्दा स्थिति तनावग्रस्त भएको थियो । त्यसपछि स्थानीय प्रशासनले कर्फ्यु आदेशसमेत जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?